अझै गठबन्धनको विपक्षमा कोइराला

वेलकम खबर
चैत्र २४, २०७८

विराटनगर ।आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट संस्थागत रूपमा सत्तारुढ दलहरूबीच चुनावी तालमेल हुने निर्णय भए पनि विगतदेखि नै तालमेलको विपक्षमा रहेका नेता डा. शेखर कोइराला अझै पनि तालमेलको विपक्षमा देखिनुभएको छ । कांग्रेसको निर्णय पर्खिएर बसेका माओवादी, नेकपा एसलगायतका अन्य दलले उसको निर्णयपछि विभिन्न जिल्लामा धमाधम चुनावी तालमेल गर्ने निर्णय सार्वजनिक भइरहँदा कोइरालाले भने तालमेलविरुद्ध खबरदारी गर्नुभएको छ ।

बुधबार बिहान विराटनगर विमानस्थलमा सञ्‍चारकर्मीसँग कुरा गर्दै कोइरालाले तालमेलभित्रको आवश्यकता र औचित्य र स्थानीय तहलाई नै उम्मेदवार छनोट गर्न दिनुपर्ने अडान राख्नुभएको छ । केन्द्रीय समितिमा आफूहरू बहुमत सदस्यबाट पेलिएको समेत उहाँले गुनासो गर्नुभएको छ । उहाँले आउँदो चुनावमा अन्य दलसँग गठबन्धन भए अप्ठेरो हुने बताउनुभएको छ । कोइरालाले केन्द्रीय समितिको बैठकले ‘तालमेल गर्न सकिनेछ’ भन्‍ने मात्रै निर्णय गरेकाले आवश्यकता र औचित्यका आधारमा जिल्ला र क्षेत्रलाई त्यसको अधिकार दिनुपर्ने बताउनुभयो । ‘हामीले गठबन्धन गर्नु हुँदैन नेपाली कांग्रेस एक्लै लड्नुपर्छ भनेर भन्यौं, हामी त प्रतिशतको हिसाबले धेरै कम छौं केन्द्रीय समितिमा’, कोइरालाले भन्नुभयो– ‘गठबन्धन नै गरेपछि तालमेल गर्ने भनेको छ, कन्फ्युजन नहुनुहोस्, आवश्यकता र औचित्यताको आधारमा तालमेल गर्ने भनेको छ, नेपाली कांग्रेसका कार्यकर्ताहरूले फेरि विरोध गरे भने त अप्ठेरो हुन्छ नि त, त्यसले सत्ता गठबन्धनलाई पनि त अप्ठेरो पार्छ ।’

उहाँले जबरजस्ती गठबन्धन गरिए त्यसको जवाफ आफूले दिन नसक्ने बताउनुभयो । कोइरालाले केन्द्रीय समितिको निर्णयभन्दा आफूले अलिकति पनि दायाँबायाँ नगर्ने स्पष्ट पार्नुभयो । केन्द्रबाटै उम्मेदवार पनि टुंगो लगाउन खोजिए देशव्यापी विरोध हुने चेतावनी दिनुभयो । कोइरालाले कांग्रेसले माओवादीलाई होइन कांग्रेसलाई जिताऔं भन्ने अभियान चलाउने बताउनुभयो । ‘घरघर जाऔं माओवादीलाई हैन नेपाली कांग्रेसलाई जिताऔं भन्ने अभियान हो हाम्रो’, उहाँले भन्नुभयो– ‘भागबन्डाको राजनीति हामीले गर्नु हुँदैन, गर्दिन भनेर देउवाले भनिराख्नुभएको छ, सभापतिजीले पनि सबैलाई मिलाएर न्यायोचित ढंगले हिँड्न सक्नुपर्ने हुन्छ, पेलेर पार्टी चल्दैन ।’

गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केही दिनअघि कोइरालालाई लक्षित गर्दै गठबन्धन नचाहनेलाई एक्लै चुनाव लड्न दिनुपर्ने र हैसियत थाहा हुने भन्‍ने अभिव्यक्तिको प्रसंगमा उहाँले अरू पार्टीले के भन्दै छन् भन्नेतिर आफ्नो ध्यान नभएको बताउनुभयो । ‘माधव नेपालले के भन्नुभयो भन्ने सरोकारको विषय होइन, कांग्रेसले के भन्दै छ भन्ने मुख्य कुरा हो’, उहाँले भन्नुभयो– ‘नेपाली कांग्रेसको केन्द्रीय समितिले के निर्णय गरेको छ त्यो महत्वपूर्ण कुरा हो ।’ उहाँले ताममेलकै लागि भनेर केन्द्रीय तहमा संयन्त्र बन्नु ठीकै रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*