प्रधानमन्त्रीले नेपालको राष्ट्रिय स्वाभिमानमाथि ‘भद्दा मजाक’ गरे : योगेश भट्टराई

वेलकम खबर
चैत्र २०, २०७८

काठमाडौं । नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय स्वाभिमानमाथि मजाक गरेको बताएका छन् ।

प्रतिनिधिसभाका सांसद समेत रहेका भट्टराईले एमाले ताप्लेजुङले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै औपचारिक विदेश भ्रमणका बेला कुनै एक पार्टीको कार्यालयमा गएर प्रधानमन्त्री देउवाले नेपालको राष्ट्रिय स्वाभिमानमाथि ‘भद्दा मजाक’ गरेको बताएका हुन् ।

उनले प्रधानमन्त्री देउवाको यो कार्यबाट नेपालीहरुको स्वाभिमान गिरेको पनि बताए । भारत भ्रमणका रहेका प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीको कार्यालयमा गएको विषय अहिले निकै चर्चामा छ ।

साथै प्रधानमन्त्री देउवाले कुटनीतिक मर्यादा बिर्सेर यो कार्यले मुलुकको स्वाभिमानमाथि गम्भिर आँच पुगेको बताए ।गठबन्धनका नाममा बनेको सरकार देश र जनताको शीर ठाडो पार्न नभएर निहुर्‍याउन लागि परेको उनको भनाइ थियो ।

भट्टराईले लोकतन्त्र र नेपाली स्वाभिमानको रक्षाका लागि एमाले फेरी शक्तिमा आउनु अनिवार्य रहेको भन्दै त्यसका लागि हिम्मत कसेर चुनावी मैदानमा जान अगुवा कार्यकर्तालाई आग्रह गरे ।

गठबन्धनले सरकारको साँचो हातमा लिएदेखि नै मुलुकको अर्थतन्त्र डामाडोल बनेको, महंगीले चरम सीमा नाघेको, रेमिट्यान्स घटेको जस्ता आरोप समेत उनले लगाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*