ताप्लेजुङमा तेस्रो संस्करण मेयर कप भलिबल प्रतियोगिता सुरु, एक दिन सार्वजानिक बिदा
मदन गौतम
ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा मेयर कप अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको जिसस प्रमुखबाट उद्घाटन भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा ताप्लेजुङ भित्रका पालिकाले मात्र सहभागि हुन पाउने छन । २०७५ साल देखि वडा स्तरमा गरिएको मेयर कप पुरुष भलिबल प्रतियोगिता २०७६ बाट स्तर वृद्धि गरि अन्तर पालिका स्तरीय रुपमा खेलाउन थालिएको हो ।
नगरपालिकाको गत चैत्र ६ गते बसेको ८२औं बैठकले अन्तर पालिका स्तरीय मेयर रनिङ कप पुरुष भलिबल खेल सञ्चालन मापदण्डलाई पारित गरिएको नगर प्रमुख छत्रपति प्याकुरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
उद्घाटनको पहिलो खेल मिक्वाखोला र आठराई त्रिवेणी गाउँपालिका त्यस्तै दोस्रो खेल सिद्धिङवा र मैवाखोला बिच भएको थियो । मिक्वाखोला र सद्धिङवा गाउपालिकाले सोझो सेटमा जित निकालेको छ ।
प्रतियोगितामा ताप्लेजुङका सम्पूर्ण ९ वटा पालिकाहरूको सहभागिता रहेको छ । प्रतियोगिता लिग कम नकआउट प्रणालीका आधारमा खेलाइने छ । प्रतियोगिताको विजेता हुने पालिकाले नगद रु दुई लाख ५० हजार एक सय साथ मेडल प्रमाण पत्र र कप पाउने छन ।
यस्तै उपविजेताले एक लाख पचास हजार एक सय साथै मेडल प्रमाण पत्र र कप, तृतिय हुने पालिकाले नगद रु चालीस हजार एक सयका साथ मेडल प्रमाण पत्र र कप प्राप्त गर्ने आयोजकले जनाएको छ ।
उद्घाटनका दिन फुङलिङ नगरपालिका भित्र १ दिने सार्वजानिक बिदा दिने निर्णय पनि नगरपालिकाको ८२औं बैठकले स्वीकृत गरेको थियो । प्रतियोगिता आगामी चैत्र १२ गते सकिने आयोजकले जनाएको छ



















