मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि पाइने

वेलकम खबर
फाल्गुन १०, २०७८

काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ । आयोगले मतदाता परिचयपत्र हराएका व्यक्तिले २० फागुनभित्र विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरेको हो ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता परिचयपत्र हराएका व्यक्तिले प्रतिलिपिका लागि सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने जानकारी दिए ।

२० फागुनभित्रै निवेदन दिनुपर्ने
मतदाता परिचयपत्र हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।

दल संख्या १ सय ९ पुग्यो
निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १ सय ९ पुगेको छ । कानुन बमोजिम आयोगमा दर्ता हुने दलको संख्या १ सय ९ पुगेको आयोगले जनाएको छ । पछिल्लोपटक नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानुनबमोजिमका प्रावधान पालना गर्ने सर्तमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार नेपाल कम्युनिस्ट पार्टी ९गौरवशाली०, साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी गरी तीनवटा राजनीतिक दल दर्ता गरिएको आयोगले भनेको छ ।

स्थानीय तह निर्वाचनका लागि १० दल दर्ता
आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म १० वटा राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन दल दर्ताका लागि निवेदन दिएको जनाएको छ ।
जनमत पार्टी, मंगोल नेसनल अर्गानाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गराएका हुन् । आयोगले ५ फागुनदेखि १५ फागुनसम्म दल दर्ताको समय तोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*