चुनाव सम्पन्न गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री

वेलकम खबर
फाल्गुन ७, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन् ।

बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिएका हुन् ।

उनले विसं २००७ मा प्रजातन्त्रप्राप्तिका लागि भएको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति हो भन्दै यसैको जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भई आज लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा भएको स्मरण गराए ।

“वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ । यसका लागि विसं २००७ को राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२/६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ ।”

प्रधानमन्त्री देउवाले भने, “आज हामी जेजस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, जुनस्तरको नागरिक हकअधिकारको उपभोग गर्न पाउने स्थितिमा छौँ, राज्यको सबै तह र संरचनामा आम नागरिकको जुन प्रकारको पहुँच स्थापित हुन सकेको छ यो सबै सात सालको क्रान्तिको जगमा उभिएर भएको हो ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*