एमसीसी अड्कोः ‘गाँठो’ जस्ताको तस्तै, मौका पर्खंदै एमाले
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा अनिर्णीत बन्दै गएको छ । गठबन्धन आबद्ध दलहरूबीचको पटकपटकको बैठकमा सहमति नजुट्दा गठबन्धनभित्रबाटै एमसीसीको ‘गाँठो’ फुक्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सत्तारूढ दलको निर्णयको पर्खाइमा छ ।
तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले ५ पुस २०७७ र ८ जेठ २०७८ मा गरी दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि पछिल्लोपटक विघटनविरुद्ध गत जेठमा पाँच दलीय सत्ता गठबन्धन बनेको थियो । तर, एमसीसी परियोजना संसद्बाट अनुमोदन गर्ने विषयसम्म आइपुग्दा नौ महिनामा नै गठबन्धनको भविष्य अन्योलमा परेको छ । एमसीसीले गठबन्धनमा सहमतिभन्दा विमतिको गाँठो कसिलो बनाएको छ ।
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि संसद्बाट एमसीसी अघि बढाउने पक्षमा छ । प्रधानमन्त्री शेरबहादुर देउवा सोही रणनीतिअनुसार गठबन्धनका अन्य दलहरूमाथि निरन्तर दबाब बढाउँदै छन् भने कांग्रेसले एमसीसीका पक्षमा उभिने निर्णय नै गरिसकेको छ ।
तर, गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्रले एमसीसीविरुद्ध सबैभन्दा चर्काे आवाज निकालिरहेको छ । माओवादीले गत बुधबार बसेको स्थायी कमिटी बैठकबाट नै एमसीसीविरुद्धमा उत्रने निर्णय गरेको थियो । उसले संशोधनबिना एमसीसी अघि बढाउनै नसकिने बताउँदै आइरहेको छ ।
यस्तै, गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीले भने एमसीसीका विषयमा शुक्रबारसम्म सहमति नजनाए पनि सहमतिको संकेत देखाउँदै आएको छ ।
शुक्रबार सरकारमा मन्त्री रहेकी एकीकृत समाजवादीकी रामकुमारी झाँझीले एमसीसीका विषयमा प्रधानमन्त्रीको भन्दा फरक धारणा नरहेको प्रतिक्रिया दिएसँगै एमसीसीका विषयमा सो दलनजिक रहेको संकेत गरेको हो । उनले शुक्रबार संसद् भवनबाटै बाहिरिँदै गर्दा सो अभिव्यक्ति दिएकी थिइन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललेसमेत शुक्रबार बिहान बसेको गठबन्धनको बैठकमा एमसीसीका विषयमा छलफल गर्न पार्टीको स्थायी कमिटी बैठक बोलाइएको भन्दै प्रधानमन्त्रीसँग ७ फागुनसम्मको समय दिन भनेका थिए । सो दलले शनिबार एमसीसी’bout आधिकारिक धारणा सार्वजनिक गर्दै छ ।
गठबन्धन आबद्ध दल जसपाभित्र भने एमसीसीमा विषयमा दुई धार छ भने अर्को घटक राष्टिय जनमोर्चाले भने एमसीसीमा सहमति दिन नसकिने प्रस्ट पारिसकेको छ ।
भोलि पुन : गठबन्धन बैठक
एमसीसीका विषयमा सहमति खोज्न भन्दै बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन आबद्ध दलहरूको बैठक बोलाइएको थियो । तर, सो बैठकमा एमसीसी संसद्बाट अघि बढाउने विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान १० बजेका लागि पुनः बैठक डाकेका थिए ।
तर, शुक्रबार बिहान बसेको बैठकमासमेत बिहीबारको बैठकमा जस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबारका लागि आफ्नो दलको स्थायी कमिटी बैठक बोलाइएको भन्दै छलफलका लागि समय मागेपछि बैठक आइतबार बस्नेगरी सकिएको थियो ।
सत्तारूढ दलभित्र शुक्रबार साँझसम्म पनि एमसीसीका विषयमा सहमति जुटेको छैन । अमेरिकाले भने १६ फागुनभित्र एमसीसी पास गर्न सरकारलाई समय नै दिइसकेको छ ।
गठबन्धन तोड्न देउवामाथि दबाब
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवामाथि गठबन्धन तोड्न दबाब बढेको छ ।
एमसीसीका विषयमा गठबन्धनभित्र सहमति हुने अवस्था नआएपछि सभापति देउवामाथि कि गठबन्धन कि एमसीसी रोज्न पार्टीभित्रैबाट दबाब बढेको हो । कांग्रेस नेताहरूले गठबन्धन तोडेर भए पनि एमसीसी संसद्मा पेस गर्नेगरी विकल्पमा जान देउवामाथि दबाब बढाएका हुन् ।
कांग्रेस नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री डा. शशांक कोइरालालगायत कांग्रेसभित्रको संस्थापन इतर र संस्थापन समूहकै नेताहरूले समेत प्रधानमन्त्री तथा सभापति देउवालाई गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्नेगरी विकल्प रोज्न दबाब बढाउँदै लगेका हुन् ।
देउवाले गठबन्धन बैठकमा भएका विषयमाथि पार्टीका शीर्ष तहका नेता र मन्त्रीहरूसँग पनि छलफल गर्दै आइरहेका छन् । सो क्रममा नेताहरूले उनलाई विकल्पमा गएर भए पनि एमसीसी अघि बढाउनुपर्ने राय दिँदै आएका छन् ।
कांग्रेस महामन्त्री गगन थापाले एमसीसीका विषयमा गठबन्धनमा सहमति भए गठबन्धन टिक्ने नभए गठबन्धन अब अघि बढ्ने अवस्था नरहेको बताए । उनले गठबन्धन कुराकानी मिलेर बनेको कुराकानी नमिल्दा नचल्ने भनेका हुन् ।
‘गठबन्धन किन बन्यो ? हाम्रो बीचमा कुराकानी मिलेर बनेको हो, कुराकानी मिलेन भने गठबन्धन चल्दैन,’ कांग्रेस महामन्त्री थापाले शुक्रबार संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग भने ।यसैगरी, कांग्रेस पूर्वमहामन्त्री कोइरालाले एमसीसी र गठबन्धनमध्ये एक रोज्न देउवालाई सुझाएका छन् ।‘प्रधानमन्त्रीसामु एमसीसी पारित गर्ने वा गठबन्धन जोगाउने दुईवटा विकल्प छ, गठबन्धन जोगाउने कि एमसीसी पारित गर्ने उहाँले एउटा रोज्नुपर्छ,’ पूर्व महामन्त्री कोइरालाले भने ।
सभापति देउवानिकट नेता मीन विश्वकर्माले प्रधानमन्त्रीलाई पार्टनरसिपमा विकल्प खोज्न सुझाइएको जानकारी दिए । ‘हामीले सभापतिज्यूलाई एमसीसीमा सहमति नहुने हो भने पार्टनरसिपमा विकल्प खोज्न सुझाएका छौं, सहमति नहुने हो भने पार्टनरसिप चल्दैन, विकल्पमा जानै पर्छ,’ विश्वकर्माले राजधानीसँग भने ।
सहमतिनजिक एकीकृत समाजवादी, आजै निर्णय
सत्ता गठबन्धनमा आबद्ध दल एकीकृत समाजवादीले भने एमसीसीका विषयमा छलफल गर्न भन्दै आज शनिबारका लागि पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । उसले आजकै बैठकबाट एमसीसीका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ ।
बिहीबार शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एकीकृत समाजवादीका अध्यक्ष नेपालले स्थायी कमिटी बैठकबाट पार्टीले एमसीसी’bout आधिकारिक निर्णय लिने भन्दै समय माग गरेका थिए । सोहीअनुसार प्रधानमन्त्री देउवाले ८ फागुन अर्थात् आइतबारका लागि पुनः गठबन्धनको बैठक बोलाएका छन् ।
एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सरकारमा रहँदासम्म प्रधानमन्त्री र मन्त्री भएका नाताले एमसीसीका विषयमा प्रधानमन्त्रीको भन्दा आफ्नो फरक धारणा नहुने बताइसकेकी छन् । उनको सो आशयसँगै सो पार्टी एमसीसीका पक्षमा खुल्ने सम्भावना देखिएको छ ।
‘प्रधानमन्त्रीले आफ्ना धारणा राखिरहनुभएको छ, म मन्त्रिपरिषद्को एउटा सदस्य भएकाले प्रधानमन्त्रीले राखेको धारणाभन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन,’ सञ्चारकर्मीहरूसँग मन्त्री झाँक्रीले भनेकी छन् ।राजधानी दैनिकबाट



















