२४ लाख नयाँ मतदाता थपिँदै
काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा २०७४ सालको निर्वाचनमा भन्दा २४ लाख बढी नयाँ मतदाता थपिने जनाएको छ ।
आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पहिलेभन्दा २४ लाख ७२ हजार ६२ जना मतदाता थपिने जनाएको हो ।
आयोगको तथ्यांकअनुसार २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मुलुकभर १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता कायम थिए ।
२९ वैशाख २०७९ लाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा निर्वाचनमा १ करोड ७९ लाख मतदाता कायम हुने आयोगले अनुमान गरेको हो । १८ वर्ष उमेर पुगेका नागरिकलाई मताधिकारको अधिकार कानुनले दिएको छ ।
२९ वैशाखसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने
यसअघि सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई १८ वर्ष उमेर पुगेको आधार मान्ने गरेको थियो । यसपटकबाट भने आसन्न स्थानीय तह निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २९ वैशाख अर्थात् स्थानीय तहका सदस्यको निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मान्नेगरी निर्दिष्ट गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
सो मितिलाई १८ वर्ष उमेर पुग्ने निर्दिष्ट मिति मान्दा मतदाता नामावलीमा नाम समावेश भएका थप २ लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित भएको आयोगले जनाएको हो ।आयोगले निर्वाचनको मिति घोषणा भएबाट नै मतदाता नामावली संकलन कार्य स्थगित गरिसकेको छ । आयोगले यसपटक मतदाता नामावली संकलनका लागि विशेष अभियान नै सञ्चालन गरेको थियो ।आयोगले स्थानीय तहका केन्द्र, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली संकलन गरेको थियो भने यसपटक आफू बसोबास रहेको जिल्लामा नै नामावली दर्ता गर्न सकिने र सो नाम आफ्नो स्थायी ठेगाना भएको जिल्लामा पठाउनेगरी सुविधासमेत दिएको थियो ।



















