महाधिवेशनपछि माओवादी केन्द्रका नेताहरुमा देखिन थाल्यो कोरोना
काठमाडौं । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीमा नेताहरुमा कोरोना संक्रमण देखिन थालेको छ । माओवादीको पुस ११ देखि १८ गतेसम्म प्रज्ञा भवन कमलादीमा महाधिवेशन चलेको थियो ।
देशभरबाट १७४२ जना प्रतिनिधि सहभागी भएको माओवादीको सोही राष्ट्रिय महाधिवेशन स्वास्थ्यका दृष्टिकोणले महँगो सावित भएको छ । ८ दिनसम्म एउटै हलमा पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदन र नेता देव गुरुङको विधान संशोधन प्रस्तावको छलफलदेखि नेतृत्व चयनमा नेताहरु जुटेका थिए ।
महाधिवेशन यस्तो बेलामा थियो कि देशभर कोरोना संक्रमण बढ्दै थियो भने नयाँ भेरियन्ट ओमिक्रोम समेत छिटपुट रुपमा देखिन थालेको थियो । पर्याप्त स्वास्थ्य मापदण्ड पालना हुन नसकेको माओवादीको सोही महाधिवेशनपछि नेताहरुमा धमाधम कोरोना संक्रमण देखिन थालेको छ ।
यहीबीचमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अहिले आफ्नै निजी निवासमा होम आइसोलेसनमा छन् । प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ । प्रचण्डले दुई दिन अघि देखिनै भेटघाट बन्द गरेका थिए ।
यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना पुष्टि भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । यस्तै केन्द्रीय सदस्य सुवोध श्रीर्पालीलाई पनि कोरोना संक्रमण देखिएको छ भने प्रचण्डकै स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना पुष्टि भएको छ ।
यसैबीच माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेल बाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो । पुस महिनामा कोरोना संक्रमितको जीन सिक्वेन्सिङ गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गर्दा नेपालमा पनि यसको असर तीव्र बनेको हो ।



















