घट्यो ताप्लेजुङको जनसंख्या, कुल जनसंख्या कति ?
ताप्लेजुङ – ताप्लेजुङको जनसंख्या घटेको छ । ताप्लेजुङबाट बसाई सरेर जानेको सूची ठूलै छ । यिनै कारणले एक दशकपछि गरिएको गणनामा जिल्लाको जनसंख्या घटेको हो ।
जनगणना कार्यालय ताप्लेजुङको सुरुवाती तथ्यांकअनुसार जिल्लाको कुल जनसंख्या १ लाख २० हजार ४ सय ३९ छ । २०६८ को जनगणनामा १ लाख २७ हजार ४ सय ६१ थियो ।
यो वर्ष गरिएको गणनामा विदेशमा भएकाको तथ्यांक भने छुट्टै कोलममा राखिएको छ । जनगणना कार्यालयका अनुसार जिल्लाका ६ हजार ९० जना अहिले विदेशमा छन् । त्यतिबेला विदेशको छुट्याइएको थिएन ।
कार्यालयका अनुसार परिवार संख्या भने बढेको छ । २०६८ को गणनामा २६ हजार ५ सय ९ परिवार संख्या रहेकोमा पछिल्लो गणनाको प्रारम्भिक तथ्यांकमा २८ हजार ५ सय ३० पाइएको छ । घरसंख्या भने २६ हजार २ सय १३ छ ।
जिल्लामा बसोबास गर्ने पुरुषको संख्या ६० हजार ६ सय २४ र महिला ५९ हजार ८ सय १५ छ । पुरुषको तुलनामा महिलाको संख्या ८ सय ९ जनाले कमी छ । जबकि २०६८ मा पुरुषको तुलनामा महिलाको संख्या ६ हजार ३ सय ५२ ले बढी थियो । वैदेशिक रोजगारीमा ५ हजार १ सय ४४ पुरुष र ९ सय ३७ महिला छन ।
२०७८ को गणनाअनुसार एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा बढी जनसंख्या फुङलिङ नगरपालिकामा २८ हजार ७ सय ८६ छ । सबैभन्दा कम मिक्वाखोलामा ७ हजार ९ सय ९१ जनसंख्या रहेको सुरुवाती तथ्यांकले देखाएको छ ।



















