एक पटक खोप लगाइसकेपछि एन्टिबडी बनाउने कोषिकालाई पुनः सक्रिय बनाउन बुस्टर डोज आवश्यक
काठमाडौं । कोरोना विरुद्धको खोप लगाएको छ महिनापछि शरीरमा एन्टिबडी कम हुने विभिन्न अध्ययनले देखाएको छ । शरीरमा एन्टिबडी कम हुँदै गएपछि कोरोना संक्रमणको जोखिम बढ्दै जान्छ । पूर्णमात्रा खोप लगाइसकेपछि शरीरमा एन्टिबडी कम हुँदै जाँदा पुनः एन्टिबडी बढाउन लगाइने खोप हो ।
सरकारले हाल कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिने सरकारको तयारी छ । एक पटक खोप लगाइसकेपछि एन्टिबडी बनाउने कोषिकालाई पुनः सक्रिय बनाउन बुस्टर डोज आवश्यक पर्ने सूक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलाल बताउँछन् ।
उनले भने, ‘एक पटक खोप लगाइसकेपछि एन्टिबडी बनाउने कोषिकाले केही समयपछि बिर्सन्छ। ती कोषिकालाई सक्रिय बनाउन पुनः खोप दिइन्छ । जसले गर्दा एन्टिबडी बनाउने कोषिका सक्रिय भइ पुनः संक्रमण हुनबाट बचाउँछ ।’
इजरायलसहित केही राष्ट्रले चौथो बुस्टर डोज लगाउन लागेकाले पनि नेपालमा बुस्टर डोज सुरु गर्नुपर्ने उनले बताए। ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर बुस्टर डोज दिनुपर्नेमा उनको जोड छ ।
हाल देखिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई बुस्टर डोजले पनि काम गर्ने उनी बताउँछन् । सरकारसँग सवा एक करोड खोप भण्डारणमा छ ।



















