ताप्लेजुङ चिनाउन चासोक तङनाम मनाउँदै ताप्लेजुङ समाज नेपाल
ताप्लेजुङ । ताप्लेजुङ समाज नेपालले चासोक तङनाम मनाउने भएको छ । सोमबार एक पत्रकार सम्मेलन गर्दै समाजले लिम्बू समुदायमा विशेष रूपले मनाइने उँद्यौली पर्व (चासोक तङनाम २०७८) मनाउने जानकारी गराएको छ । तङनाम आगामी पौष १० गते शनिबारका दिन काठमाडौँको धुम्बाराही स्थित एस।आर। पार्टी प्यालेसमा परम्परागत संस्कृतिको प्रस्तुति सहित मनाउने भएको हो ।
कार्यक्रमको उद्देश्य काठमाडौं उपत्यकामा बसोबास गर्ने जिल्लाबासीहरु बिच आपसी समन्वय, समझदारी गर्दै जिल्लावासीहरूको एकतालाई अझ मजबुत बनाउने साथै किराँत लिम्बू समुदायको धर्म संस्कृतिको जर्गेना र परम्परागत धर्म संस्कृति र रीतिरिवाज बारे नयाँ पुस्ता लाई प्रेरित गर्ने रहेको समाजका कार्यवाहक अध्यक्ष रमेश बरालले जानकारी दिएका छन् ।

साथै कार्यक्रममा लिम्बू समुदायको परम्परागत धर्म, संस्कृति तथा रीतिरिवाजलाई नजिकबाट अवलोकन गर्न पाइनेछ । विभिन्न समुदायको परम्परागत भेषभूषा पहिरन नजिकबाट अवलोकन गर्न पाइनेछ । हस्तकलाका सामान जस्तै ढाका, राडी, पाखी, गलैँचाको अवलोकन साथै सुफत मूल्यमा प्राप्त गर्न सकिनेछ ।
यस्तै परम्परागत सांस्कृतिक झाँक्री, धान नाच, च्याब्रुङ नाच, बिजुवा नाच, याक नाच, स्याब्रो नाच, तामाङ सेलो, साकेला नृत्य र वाला सङ्गिनी जस्ता धार्मिक सांस्कृतिक कार्यक्रमहरू नजिकबाट अवलोकन गर्न पाइने का व बराले बताए ।

साथै उनले ताप्लेजुङ समाज–नेपाल ताप्लेजुङ जिल्लावासीको सर्वोपरि हितलाई ध्यानमा राखी, काठमाडौँमा स्थाई वा अस्थाई बसोवास गर्ने जिल्लावासीको मुख्य साझा संस्था रहेको कुरा अवगत गराउन पाउदा खुसी लागेको पनि बताए ।
समाजले उक्त कार्यक्रममा उपस्थित भई मौलिक चाडपर्वको प्रर्वद्धनमा सहयोग पुर्याउन सबैमा आग्रह गरेको छ ।



















