कांग्रेस १४औं महाधिवेशनः सभापतिमा आठ आकांक्षी

वेलकम खबर
मंसिर २२, २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेसको १३ पदाधिकारी र १ सय २१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना चुन्नका लागि केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

शशांक ब्याक, इतर समूहले अझै भेटेन साझा उम्मेदवार

कांग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।

यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् ।

सभापतिको दौडमा संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर समूहबाट अब पौडेल, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्यसमेत रहेका नेता कोइराला छन् । तेस्रो धारबाट सिटौला अघि बढेका छन् ।

संस्थापन समूहबाट आफू अघि बढ्ने सन्देश प्रधानमन्त्रीसमेत रहेका देउवाले सोमबार मात्रै सरकारी निवास बालुवाटारमा आफूनिकटका पत्रकारसँगको भेटमा दिइसकेका छन् भने सोही समूहबाट निधि र श्रेष्ठको पनि दाबी रहँदै आएको छ ।इतर समूहले भने सभापतिका लागि अझै पनि साझा उम्मेदवार तय गर्ने विषयमा छलफल जारी राखेको छ । तर, सो विषय सहजै टुंगिने भने सम्भावना कम छ । मंगलबार मात्रै पनि पूर्वमहामन्त्री सिंहको ठमेलस्थित निवासमा सो समूहको ५ घन्टा बढी बैठक चलेको थियो ।

वरिष्ठ नेता पौडेलले साझा उम्मेदवार तय गर्ने विषयमा आफूहरू सहमतिनजिक पुगेको दाबी गरे । ‘हामी सहमतिको नजिक छौं, साझा उम्मेदवार टुंग्याउन हामी सबै एक छौं, बुधबार बिहान बैठक बसेर निर्णय लिन्छौं,’ मंगलबार बसेको इतर समूहको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै पौडेलले भने ।

बैठकमा महामन्त्री डा. कोइरालाले भने आफू सहमतिका लागि सभापतिको दौडबाट बाहिरिने भन्दै वरिष्ठ नेता पौडेलका लागि समर्थन गरेका हुन् ।

तर, सभापतिमा दाबी गर्दै आएका नेता डा. शेखर कोइराला र पूर्वमहामन्त्री सिंह भने आफ्नो दाबीबाट पछि हटेका छैनन् । उनीहरू आफैं सभापतिको साझा उम्मेदवार हुनुपर्ने अडानमा छन् ।

‘शशांकजी ब्याक हुन तयार हुनुभएको छ, शेखर र प्रकाशमानजीले अझै पनि आफ्नो अडान नछाड्दा समस्या भएको छ,’ बैठकमा सहभागी एक नेताले भने ।

इतर समूहको साझा उम्मेदवार खोज्ने प्रक्रियामा अघि बढ्दै आएका नेता अर्जुननरसिंह केसीले भने सहमति नभए सिंगो समूहले नै निर्णय लिने बताए ।

‘हामी अन्तिम समयसम्म पनि सहमति गरेरै साझा उम्मेदवार छान्न प्रयत्न गर्छौं, त्यो अवस्था बनेन भने समूहले निर्णय गर्छ, निर्णय सबैले मान्नुपर्छ,’ नेता केसीले राजधानीसँग भने ।

वरिष्ठ नेता पौडेलले भने दुई नेता सहमतिमा पुगे आफू पनि छाड्न तयार हुने संकेत गरेको महामन्त्री कोइरालाले भनेका छन् । इतर समूहले साझा उम्मेदवार’ छलफल गर्न आफ्ना पक्षबाट जिल्लाको नेतृत्वमा जितेका, उम्मेदवार बनेका, पूर्वजिल्ला सभापतिहरू र प्रदेशमा सभापति जितेका तथा उम्मेदवार बनेका नेताहरूसँग बुधबार छलफल गर्ने बताएको छ । सो छलफलबाट निष्कर्ष निस्कने अनुमान इतर पक्षको छ ।सोही समूहका युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, सरिता प्रसाई, रामकृष्ण यादव, हृदयराम थामी, कमला पन्त र दीपक गिरीसहितको मंगलबार बसेको बैठकले इतर समूहका नेतालाई सभापतिको साझा उम्मेदवार तोक्न दबाब दिएका थिए ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*