संसद्ले काम गर्न सकेन, अब चुनावमा जानुपर्छ : ओली
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्ले काम गर्न नसकेकाले चुनावमा जानुपर्ने बताएका छन् । मंगलबार सञ्चारकर्मीसँग एमालेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले अर्ली इलेक्सनु मा जानुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, संसद्ले काम गर्न सकेन, चुनावमा जानु पर्छ । साढे २ महिनामा पनि सरकारले पूर्णता पाउन नसक्ने अवस्था कसरी चल्छ र, उनले भने, यस्तो अवस्था चिर्नलाई चुनावमा जानुपर्छ ।
ओलीले अबको चुनावमा आफ्नो पार्टीले बहुमत ल्याएर एकल रुपमा सरकार चलाउने दाबी गरे । सरकारले एमाले फुटाउने कुत्सित मनसायका साथ अध्यादेश ल्याएको भन्दै असन्तुष्टि प्रकट गरे । मैले ल्याएको अध्यादेश ठीक थियो । अहिलेको गलत छ । म संसद्बाट राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४०र४० प्रतिशतको लाई बनाउँछु । दल त्याग गर्ने संवैधानिक अधिकार पाउनुपर्छ । तर, अहिले २० प्रतिशत कुनै एकमा हुने गरी ल्याएको अध्यादेश एमालेलाई विभाजन गर्ने कुत्सित मनसायले थियो ।
प्रधानमन्त्री रहेका बेला ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते गरी दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए । संसद्ले काम गर्न नसक्ने तर्क गर्दै प्रतिनिधिसभा विघटन गरेर उनले निर्वाचनको घोषणा गरेका थिए । प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारका दुवै निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।



















