राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि सिफारिस
काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमै पनि २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सहितको अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्ले निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको बताइएको छ।
यसअघि सरकारले ल्याएको उक्त अध्यादेशपछि नै नेकपा एमालेबाट माधवकुमार नेपालसहितका नेताहरु बाहिरिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो भने जसपाबाट अलग्गिएका महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए।
उक्त अध्यादेशको नेकपा एमाले र उपेन्द्र यादवले विरोध गरेका थिए। यादवले अध्यादेश फिर्ता भएपछि मात्रै मन्त्रीहरुको नाम पठाउने अडान राखेपछि मन्त्रिपरिषद् पनि विस्तार हुन सकेको छैन।



















