महाप्रबन्धकले विशेषाधिकार प्रयोग गरेर तलब खुवाउने

वेलकम खबर
अशोज ९, २०७८

काठमाडौँ । ८५ दिनदेखि जारी ट्रेड युनियनको आन्दोलनका कारण नेपाल वायुसेवा निगममा छिर्न रोक लगाइएका महाप्रबन्धकले विशेषाधिकार प्रयोग गर्दै दुई महिनायता रोकिएको तलब भत्ता सिहंदरबारबाटै भुक्तानी गर्ने निर्णय गरेका छन् ।

‘कर्मशील कर्मचारीहरुको जीवन निर्वाहमा कठिनाइ परिरहेको अवस्थाले मध्यनजर गर्दै १५ दिनको प्रयास तथा तालुक मन्त्रालयसँग गहन छलफल गरी महाप्रबन्धकमा रहेको विशेषाधिकार प्रयोग गरी आगामी सोमबारदेखि हालसम्मको तलब भत्ता भुक्तानी दिने निर्णय गरेको छु,’ निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले शुक्रबार साँझ फेसबुकमा लेखेका छन् ।
ओली सरकारले निगमको संस्थागत संरचना बदल्न बजेटमार्फत कार्यक्रम ल्याएपछि निगमलाई कम्पनीमा बदल्न त्यहाँको संचालक समितिले प्रबन्धपत्र र नियमावलीको मस्यौदा बनाएको थियो । त्यसैको विरोधमा असार १८ गतेयता कांग्रेस, एमाले र माओवादी निकट ट्रेड युनियनले महाप्रबन्धकलाई निगम प्रवेशमा रोक लगाउँदै आन्दोलन गर्दै आएका छन् ।
पर्यटन मन्त्रालयमै बसेर काम गर्दै आएका महाप्रबन्धक पौडेलले भविष्यमा संचालक समिति बैठकबाट अनुमोदन गर्नेगरी तलब भत्ता निकासा गर्ने निर्णय गरेको बताए । अन्तर्राष्ट्रिय उडानका लागि दुइटा न्यारो र दुइटा वाइडबडी गरी चार जेट विमान र आन्तरिक उडानका लागि दुइटा टुइनअटर विमान भएको निगममा १३ सय ८६ कर्मचारी छन् । महाप्रबन्धकका अनुसार, निगमले मासिक १५ करोड हाराहारी तलब भत्तामा खर्च गर्छ । कर्मचारीहरुले चालु आर्थिक वर्षको दुई महिना साउन र भदौको तलब भत्ता पाएका छैनन् ।
आन्दोलनका कारण निगमका दर्जनौं संवेदनशील काम प्रभावित हुँदा पनि पर्यटन मन्त्रालय हेरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा र पर्यटन सचिव यादवप्रसाद कोइरालाले समाधानका लागि पहल गरेका छैनन् । तलब रोकिएपछि निगममा ट्रेड युनियनकर्मीले निर्देशकलाई थुनेर हस्ताक्षर गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*