लजालुलाई जहिल्यै त्रास
ठूलो आवाजसँग डराउने रेडपान्डाका पोथीहरूले असुरक्षा महसुस भए बच्चा सार्छन्, यसरी सारेकै बेला ज्यान जाने जोखिम प्रबल हुन्छ
ताप्लेजुङ । ‘मेरो गोठ भएको एरियामा हाब्रे (रेडपान्डा) का दुइटा बच्चा रहेछन्, तपाईंहरू हेर्न आउनुहुन्छ रु,’ सिरिजंगा–३ सिकैचाका दावा भोटेले हिमाली संरक्षण मञ्चका संयोजक रमेश राईलाई फोन गरे । उनले क्यामेरा राखेर तिनीहरूको निगरानी गर्न पनि अनुरोध गरे । राईले अहिले क्यामेरा कम भएकाले त्यसको रेखदेख समुदायले नै गर्नुपर्ने सुझाव दिए । त्यसपछि दावा जंगलमा कोही नयाँ मान्छे पस्ला कि, रेडपान्डाका लागि वातावरण बिथोल्ला कि भनेर निगरानी गरिरहेका छन् ।
रेडपान्डा पाइने ताप्लेजुङका वन क्षेत्रमा यतिबेला संरक्षणकर्मी चनाखो छन् । ‘यतिबेला हाब्रेले बच्चा हुर्काउने समय हो,’ रेडपान्डा नेटवर्कका कार्यक्रम संयोजक वाङचुक भोटिया भन्छन्, ‘यसले मान्छेलाई हानि–नोक्सानी गर्दैन तर मान्छेका कारण यो जोखिममा छ ।’ सन्तान जन्माउने र हुर्काउने समयका लागि बासस्थान रक्षा गर्न देखाएको चतुर्याइँ र सहवासका लागि गरेको यात्राले भने यसको अध्ययन गर्नेहरू छक्क पर्छन् । पानी पिउन पनि दुईरतीन सय मिटरसम्म हिँड्ने गरेको पाइएको छ । सामान्यतया १५ सय मिटर उचाइमाथि बस्ने रेडपान्डाको मुख्य आहार मालिंगोको टुसा हो ।
जहाँ मालिंगो पाइन्छन्, त्यही क्षेत्र आसपास रेडपान्डा पाइएका छन् । बच्चा जन्माउने र हुर्काउने समयमा भने रेडपान्डाले बासस्थान वरिपरिको मालिंगो छोएकोसम्म हुँदैन । ‘झट्ट हेर्दा आहारा नै नछोएको ठाउँमा कसरी बस्छ भनेजस्तो देखिन्छ । शत्रुबाट बच्न र सन्तानलाई बचाउन उसले वरिपरिको छाडेर टाढाबाट आहारा ल्याउँछ,’ भोटियाले भने ।
बर्सेनि सेप्टेम्बरको तेस्रो शनिबारलाई रेडपान्डा दिवसका रूपमा मनाइन्छ । यस पटकको नारा ‘रेडपान्डाको सुरक्षा, पुनःस्थापना गरौं र उत्सव मनाऔं’ भन्ने छ । रेडपान्डालाई एकै ठाउँमा रहने र त्यसकै आसपासमा घुमिरहने प्रजातिका रूपमा लिइन्छ । तर सहवासको समयमा भने भालेले पोथीको खोजीमा तीनरचार दिनसम्म यात्रा गरेको पाइएको छ ।
इलामको फालेलुङमा गरिएको अध्ययनमा ६र७ घण्टा लाग्ने बाटो हिँडेको पाइएको भोटिया बताउँछन् । ‘सहवासको समय यिनीहरूका गतिविधि अलि अनौठा हुन्छन् पोथीले आफ्नो बस्ने भाग ९नितम्ब० भुइँमा बेस्सरी दल्ने र जिब्रोले रूखमा चाट्ने गरेर आफ्नो संकेत छाड्छन्, त्यही संकेत हेरेर भालेले पछ्याउँछ,’ उनले भने, ‘भालेले भेटिसकेपछि पनि पोथीले सहज ढंगले स्विकार्दैन । पोथीको विश्वास जित्न केही दिन लाग्छ ।’ क्यामेरा ट्र्यापिङ, कलरिङ जस्ता अध्ययनअनुसार पोथीको विश्वास जितेर गरेको पहिलो सहवासपछि भने एकदेखि डेढ महिना भाले र पोथीसँगै बस्ने गरेको खुलेको छ । बच्चा जन्माउने समयमा पोथी एक्लै हुने गरेको छ । ‘शारीरिक रूपमा पुष्ट भालेहरूले पोथीका लागि धेरै हिँड्ने गरेको पाइयो,’ भोटियाले भने ।
रूखको टोड्को र मालिंगोको झाडीमा बस्ने भएकाले यसको प्रमुख शत्रु मलसाप्रो हो । ‘मलसाप्रोले रेडपान्डा मारेको पाइएका छन्,’ हिमाली संरक्षण मञ्चका संयोजक रमेश राई भन्छन्, ‘भुस्याहा कुकुर, गोठमा पालिने सिकारी कुकुरबाट पनि रेडपान्डालाई जोखिम हुने गरेको छ ।’ छाडा कुकुर नियन्त्रणका लागि ताप्लेजुङ, पाँचथर र इलाममा तीन वर्षदेखि बन्ध्याकरण शिविर चलाइँदै आएको छ । प्रहरी हवल्दार धनराज तुम्बापो रेडपान्डा रूखमाथि बस्ने र कुकुर त्यसको फेदमा ढुकेर बसेको पाइएको बताउँछन् । ‘गस्ती गर्ने क्रममा मैले थुप्रै पटक त्यस्तो देखेर कुकुर खेदाएको छु,’ उनले भने । रेडपान्डालाई बच्चा हुर्काउन निकै गाह्रो पर्छ । धेरै बच्चा शत्रु जीवबाट मारिन्छन् । रेडपान्डा जोगाउन साउनदेखि असोजसम्म वनमा नपसिदिन र घाँस दाउरा नगरिदिन संरक्षणकर्मीले स्थानीय बासिन्दालाई आग्रह गर्दै आएका छन् ।
नेपालमै सबैभन्दा बढी रेडपान्डा रहेको दाबी गरिएको ताप्लेजुङ, पाँचथर, इलाम जिल्लाका सामुदायिक वनले वन नपस्ने कार्ययोजना नै बनाउने गरेका छन् । असार–साउनमा बच्चा जन्माउने र बाँकी दुईरतीन महिना नियमित हेरचाह गरेर हुर्काउने भएकाले असोजसम्मलाई विशेष महत्त्वका साथ हेरिन्छ । यो अवधिमा आफूलाई असुविधा महसुस भए रेडपान्डा ठाउँ सर्छन् । यस्तो अवस्थामा बच्चा लिएर सर्नुपर्ने भएकाले बच्चा हुर्काउन नसकी मृत्यु हुन सक्छ ।
संरक्षणविद् प्रह्लाद योञ्जनले सन् १९८९ मा लामटाङ राष्ट्रिय निकुञ्जमा गरेको अध्ययनअनुसार ८६ प्रतिशतको बच्चा अवस्थामै मृत्यु हुने गरेको छ । संरक्षणविद्का अनुसार यस्तो मृत्युदरले रेडपान्डाको संख्या वृद्धिमा गम्भीर समस्या देखिन्छ । गाडीको हर्न बजेमा, घाँस दाउरा गर्दा ठूलो आवाजले कराएमा, रूखको हाँगा खसालेमा वा रूख काटेमा यो जनावर डराउँछ र बच्चा छोडेर हिँड्ने वा सार्नतिर लाग्ने संरक्षणकर्मी बताउँछन् । रेडपान्डाको गर्भधारण गर्ने समय पुसदेखि फागुन महिना हो । सामान्यतया १ सय ३५ दिनमा बच्चा जन्माउने यो जन्तुमा गर्भिणी पोथीले ठूलो रूखको टोड्का खोजेर सुत्केरी हुने ठाउँ बनाउँछन् ।
‘मेहनत गरेर बस्ने ठाउँ खोज्ने भएकाले अवरोध नभए बच्चा मर्दैनन् । सार्नुपरे त्यस्तै वातावरण नहँॅदा बच्चा बचाउन गाह्रो पर्छ,’ भोटियाले भने, ‘त्यसैले यो बस्ने ठाउँमा मान्छेले हस्तक्षेप गरिदिनु हुँदैन । दूध चुसाएरै हुर्काउने उसले तीन महिनामात्रै राम्रो वातावरण पाए मृत्यु नै भइहाल्ने सम्भावना कम हुन्छ ।’ ताप्लेजुङ, पाँचथर, इलाममा २ सय ७५ को हाराहारीमा रेडपान्डा रहेको अनुमान छ । यसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षण सूचीमा राखिएको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।



















