को बन्ला कमेडी च्याम्यिन को विजेता ?

वेलकम खबर
अशोज २, २०७८

काठमाडौं: कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को फिनाले आज हुने भएको छ। कोरोना महामारीबिच फिनाले च्याम्पियनको सेटमै हुने कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले जानकारी दिए।

‘हामीले बुधबार नै फिनालेका प्रस्तुतिहरु छायाँकन गरिसकेका छौँ। लगभग तयारी पुरा भइरहेको छ। आज राति साढे दश बजेसम्म भोटिङ लाइन खुल्ला हुनेछ। साथै नतिजा भने ११ बजेभित्र लाइभमा घोषणा गरिनेछ,’ उनले बताए।

कमेडी च्याम्पियनको फाइनलमा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा भिड्नेछन्। यी तीनजना मध्ये एकजना भोटको आधारमा विजेता घोषित हुने छ। तीन मध्येबाट विजेताले उपाधिसँगै कार पाउनेछन्।

ताप्लेजुङका भरतमणिलाई धेरैले दाबेदार प्रतिस्पर्धीका रुपमा लिएका छन्। पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि उनलाई दर्शकले ‘नोटिस’ गरेका थिए। उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए। पारसको जस्तै हाउभाउमा स्टेज प्रवेश गरेका भरतमणिको व्यङ्ग्यात्मक प्रस्तुतिलाई धेरैले रुचाए पनि। जसकारण उनी बिना भोटिङ नै सिधैँ फाइनलमा पुगेका थिए। समसामयिक र राजनीतिक विषयवस्तु चोटिलो प्रहार गर्नु भरतमणिको कमेडीको विशेषता हो।

त्यसैगरी भारत सिक्किमका बिक्की अग्रवाल मौलिक र फरक प्रस्तुतिका लागि चिनिन्छन्। अन्तिम ४ को प्रतिस्पर्धामा उनले कमेडी च्याम्पियनको स्टेजमा नै पहिलोपटक ‘पेन्टोमाइम’ प्रयोग गरेका थिए। बिक्की नेपाली कमेडीमा नयाँ आयाम भित्र्याउने प्रतिस्पर्धीको रुपमा चिनिन्छन्।

अर्का प्रतिस्पर्धी हुन् गोरखाका सन्तोष थापा। निर्णायक मनोज गजुरेल सन्तोषलाई विक्की र भरतमणीको फ्यूजनको रुपमा लिन्छन्। साथै उनको प्रस्तुतीमा ‘रियल लाईफ एक्सपेरियन्स’, ‘अर्गयानिक कन्टेन्ट’, हाउभाउको सही प्रयोग र प्रस्तुतीमा शालिनता र सरलता भेटिने समेत गजुरेलले उल्लेख गरेका छन्।

फिनाले आज बेलुका ९ बजे देखि कान्तिपुर टेलिभिजन र ओएसआर डिजिटल युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*