राडीको तानमा बुढ्यौली हात
ताप्लेजुङ । फुङलिङ नगरपालिका—५ गुम्बाडाँडाकी सोममाया गुरुङ उनकै भनाइमा ‘डाँडाको घाम जस्तै’ बन्दै गएकी छन् । उमेरले ८७ वर्ष पुगेकी उनी घाँसरदाउरा, मेलापात गर्न घर बाहिर जान सक्न छाडिन् । तर सानोमा आमाबाट सिकेको पुर्ख्यौली पेसालाई भने अझै छाडेकी छैनन् ।
आमा घाँसरदाउरा र मेलापात गएको मौका छोपेर सिकेको सीपलाई अहिले पनि निरन्तरता दिइरहेकी छन् । सोममायालाई बाध्यता पनि छैन र कर पनि होइन । राडी नबने भोकै हुनुपर्छ भन्ने चिन्ता पनि छैन । तर तानमा नबसे चित्तै बुझ्दैन । गरिल्याएको कामलाई हातपाउ चलुन्जेल छोड्ने मनसाय उनमा देखिँदैन । छोराबुहारी र नातिनातिना ‘बसेर खानु, काम गर्नु पर्दैन’ भन्छन् । तर बुढ्यौली हात राडीको तानमा चलिरहेका छन् । ‘हाम्रो कुरा नमान्ने भनेर बेलाबेला रिसाउँछन् पनि । सकुञ्जेल त गर्नुपर्छ नि हैन र
सोममायाले थपिन्, ‘बसेर, ढाँटेर, चोरेर खानु राम्रो होइन, गरेर त खानुपर्छ ।’ सदरमुकाम फुङलिङबाट करिब ५ किलोमिटरको दूरीमा घर भएकी उनी राडी बुनेर आएको आम्दानी आफ्नै नातिनातिनालाई दिन्छिन् । ‘काठमाडौंमा पढ्दै छन्, अब दसैंमा आउँछन् । जाने बेलामा खर्च हातमा राखिदिन्छु,’ सोममायाले भनिन् । १५ वर्षको उमेरमै जन्मघरबाट अन्मिएर कर्मघर आएकी उनी राडी बुन्ने काममा माइतीमै पोख्त भइसकेकी थिइन् । ‘आमाले बुनेको हेरेर सिकें,’ राडी बुन्न सिक्दाको बाल्यकाल स्मरण गर्दै थपिन्, ‘एक दिन त तान बिग्रिएर आमाले गाली पनि गरिन्, पिटिन् पनि ।’
आफ्नै रहरले चलाउँदा तान बिग्रिएपछि भने आमाले सिकाउन थालेको उनलाई याद छ । पढ्न स्कुल जाने समय नभएको त्यो बेला बुबाआमाले दिने शिक्षा यस्तै हुने सोममाया बताउँछिन् । ‘अहिलेजस्तो स्कुल थिएन । पढ्न जाऔं भन्ने हुँदैनथ्यो । अनि त आफूले गर्ने काम पनि यस्तै हुन्थ्यो । बुबाआमाले पनि सिकाइहाल्थे’ सोममायाले विगत सम्झिइन् । सिक्ने क्रममा धागोले औंलामा घाउ बनाएको, हात चलाउनै नहुने गरी दुखेको याद पनि उनलाई छ । तर सिक्न भने छोडिनन् ।
उनले जान्दा राडीको ऊन घरमै हुन्थ्यो । प्रत्येक घरले भेडा अनिवार्य पाल्ने चलन थियो । बिहान–बेलुका तिनका लागि घाँस काट्नुपर्थ्यो । दिउँसो मेलापात गर्नुपर्थ्यो । त्यसपछि रहेको समयमात्रै तानमा बस्न पाइन्थ्यो । साह्रै थकान लागे राडीको तान थकाइ मार्ने माध्यम पनि थियो । राडी बुन्ने प्रविधिलाई तान भनिन्छ । यो तानलाई कम्मरमा राखेर तन्काउने नाम्लो चाहिन्छ । स्थानीय भाषामा त्यसलाई ‘पेटो’ भनिन्छ । पलेंटी कसेर बस्दा ढाडमा पेटो लगाएपछिमात्रै तान तनक्क तन्किन्छ । तानमा ‘तेस्रो’ राखिएको हुन्छ । यो बाँसबाट बनाइन्छ र दुईछेउमा तिखारिएको हुन्छ । यसले तानलाई अड्याउने काम गर्छ । अर्को ‘फो’ भन्ने हुन्छ । सानो बाँसको भाटाको यसले तानको चौडा भागलाई तन्काउँछ । यसमा ऊनको डोरी फड्काएर लगाइन्छ । अन्यथा एकै ठाउँमा पोको परेर बस्छ र तन्कँदैन ।
धागोको डोरीलाई फटाउन प्रयोग गरिने ‘ताकेनाथ’ हुन्छ । बुन्दा यो पटकरपटक सार्नुपर्छ । यसले बुनेको डोरीलाई कस्ने काम पनि गर्छ । प्रत्येक चाररपाँचवटा डोरीलाई छुट्याउन मालिङ्गोको सानो बाँसमा रातो डोरीले बाँधेर बनाएको ‘लोटो’ हुन्छ । त्यसमाथि ‘भारी काठ’ राखिएको हुन्छ । जसले राडीको तानको पूरै भार बहन गर्छ । आफूले जान्दादेखिका यिनै सामग्री अहिले पनि प्रयोगमा रहेको सोममाया सुनाउँछिन् । यी सामग्री घरमै बनाइन्छ ।
उमेर छँदा र बुढ्यौलीमा राडी बुन्दाको एउटा पृथकता छ । तागत हुँदा एकरदुई पटक तान ढप्क्याउँदा हुने भए पनि अहिले चाररपाँच पटक हान्नुपर्ने सोममायाले सुनाइन् । राडीलाई कसिलो बनाउन हतासोले हानेर कस्नुपर्छ । सानोमा अन्नसँग साट्ने राडी अहिले एक पाटेको ३ हजार ५ सय पुगेको छ ।
गत वर्षको तुलनामा अहिले एक हजार रुपैयाँले वृद्धि भएको छ । अर्डर भए राडीमा नाम लेख्ने, एकै रङको बनाउने काम पनि हुन्छ । ऊन विक्रेताले धार्नीको पाँच सय रुपैयाँ लिन थालेपछि राडीको मूल्य पनि बढेको हो । ‘पहिला त औलका मान्छेसँग धान, कोदोमा पनि साट्यौं, पैसासँग कारोबार गरेको १०र२० वर्ष मात्रै भयो,’ सोममायाले भनिन्, ‘उमेर छँदा एक पाटे राडी एकै दिनमा बुनिसक्थें, अहिले छरसात दिन लाग्छ ।’ सेतो र कालो ऊनको डोरी पालो गर्दै बुन्दा छिटो मेलो सर्छ । राडीको पाटारपाटा बुनेर धेरैवटालाई जोडेर तीनपाटेरचारपाटे बनाइन्छ । बजार मूल्य पनि जति जोड्यो त्यति नै बढी हुन्छ ।
१८ वर्षयता एकल जीवन बिताइरहेकी सोममाया घाम नझुल्किएसम्म तानमा बस्न नसक्ने बताउँछिन् । पूरै दिन पनि तानमा बिताउन सक्दिनन् । तान लगाएर बुन्न नसके बुहारीले सहयोग गर्छिन् । काठमाडौं मूलपानीमा घर भएकी उनलाई उतै बस्न छोरा–नातिले गरेको अनुरोध भने स्वीकार्य छैन । ‘भगवान्ले कर्म गर्न पठाएको हो, बिनाकाम सहरमा बस्नु राम्रो होइन,’ सोममायाले भनिन् । काठमाडौं बसेर पढ्दै गरेका नातिनातिना वर्षमा एकपटक आएर वरिपरि बसेनन् भनेचाहिँ उनलाई कठिन हुन्छ ।
वर्षमा एकपटक दसैंमा मात्रै आउने नातिनातिनाको चाहना आमा तानमा नबसुन् भन्ने हुन्छ । तर उनलाई भने त्यो बेला एकै दिनमा एउटा राडी बुनिसक्छु जस्तो फूर्ति जाग्छ । ‘केटाकेटीले गाली गर्छन् र तानमा नबस् भन्छन्, मेरोचाहिँ हात सकसकाउँछ,’ उनले भनिन् ‘तिमेरु पनि सिक भनेर कराउँछु र तानमा बसेर तिर्सना मेट्छु ।’ekantipur



















