टेलिफोन सम्पर्क खोज्दै डाँडातिर

वेलकम खबर
भदौ २७, २०७८

ताप्लेजुङ . बारी जोत्ने क्रममा चार महिनाअघि फक्ताङलुङ गाउँपालिका–७ याङमाका फिञ्जो शेर्पालाई याकले हान्यो । घाँटीमा गम्भीर चोट लागेका उनी हिँड्न सक्ने अवस्थामा भएनन् । उपचारका लागि बोकेर स्वास्थ्य संस्था लैजान गाउँमा युवा थिएनन् । भएका सबै चौंरी गोठतिर थिए ।

गोठहरू पनि झण्डै एक दिनको पैदल दूरीमा रहेको टिप्ताला भञ्ज्याङ नजिक थिए । फिञ्जोको उपचारका लागि चार बिकल्प थिए । पहिलो, फोन सम्पर्क गर्ने र स्वास्थ्यकर्मी गाउँमै बोलाउने । दोस्रो, हेलिकप्टर झिकाएर उपचारका लागि लैजाने । तेश्रो, बस्तीमा भएका बूढापाका, महिला सबैले बोकेर स्वास्थ्यकर्मीकोमा पुर्‍याउने र चौथो, गोठमा भएका युवाहरूलाई भेला पार्ने र बोकेर स्वास्थ्य संस्था लैजाने ।

सबै विकल्पका लागि टेलिफोन सम्पर्क आवश्यक पर्थ्यो । टेलिफोन सम्पर्क गर्नै पनि बस्तिदेखि तीन घण्टा हिँडेर घाम लाग्ने डाँडामा पुग्नुपर्छ । बादल, कुहिरो नलागेको खण्डमा मात्रै त्यहाँबाट स्काईको फोनबाट सम्पर्क हुन्छ । घाम लाग्दामात्रै सम्पर्क हुने भएकाले स्थानीयले यो डाँडालाई घाम लाग्ने डाँडा भन्ने गरेका छन् ।

हेलिकप्टरका लागि फोन र पैसा दुवै आवश्यक पर्ने । पैसापनि कम्तिमा चाररपाँच लाख रुपैयाँ चाहिने, युवकहरू लिन जाँदा र फर्कंदा दुई दिन बित्ने, स्ट्रेचरमा बोकेर लैजान बाटो सहज नभएको र ढाकरमा बोक्ने चलन भएकाले बिरामीलाई एक्लै बोक्न सक्ने युवा गाउँमा कोही थिएनन् । फिञ्जोकी श्रीमतीले पहिलो विकल्प रोजिन ‘डाँडामा गएर फोन गर्ने र स्वास्थ्यकर्मी बोलाउने’ । संयोग, स्काइको फोन बोकेर गएकी उनले वडाध्यक्ष छेतेन शेर्पा भोटेलाई सम्पर्क गर्न सफल भइन् र स्वास्थ्यकर्मी पठाइदिन अनुरोध गरिन् । वडाध्यक्ष भोटे ओलाङचुङगोलाबाट स्वास्थ्यकर्मी लिएर भोलिपल्ट बस्तिमा पुगे र उपचार संभव भयो । स्वास्थ्यकर्मी पुग्नु अघिसम्म जडीबुटी लगाएर गाउँमै उपचार गरियो ।

४२ सय मिटर उचाइमा रहेको याङमा जिल्लाको सबैभन्दा टाढा र नेपाल–चीन सिमाना टिप्ताला भञ्ज्याङदेखि सबैभन्दा नजिकको बस्ती हो । यो द्विदेशीय सीमा रक्षक बस्ती पनि हो । तर, यहाँका बासिन्दाले स्वास्थ्य, शिक्षा त परैको कुरा सञ्चार सुविधा समेत उपयोग गर्न पाएका छैनन् । वडाध्यक्ष भोटेले थोरै जनसंख्या भएकोले पनि आवाज उठाउन नसक्ने भएर राज्यको उपेक्षामा परेको गुनासो गर्छन् । वडाध्यक्ष भए पनि आफ्नो पहुँच नपुग्ने गुनासो गर्दै भन्छन्, ‘फोन नलागेको भए र बेलैमा स्वास्थ्यकर्मी लिएर नगएको भए फिञ्जोले अपांग भएर बस्नुपर्थ्यो होला ।’ नेपाल टेलिकमले वर्षमा अर्बौ रुपैयाँ नाफा गरेको सुनिरहँदा र आफूहरूले फोन सम्पर्कबाट समेत वञ्चित हुनुपर्दा दुःख लाग्ने नुपु शेर्पा बताउँछन् । ‘हामीलाई त हाम्रो देशले जनता नै ठान्दैन,’ नुपुले चिन्ता व्यक्त गरे ।
१३ घरका ५२ जना रहेको याङमाका बासिन्दाको पहिलो माग नै टेलिफोन सेवा हो । त्यसपछि स्वास्थ्यचौकी र विद्यालयको माग गरेका छन् ।ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*