बाँदरको पिरले बसाइँ सराइ

वेलकम खबर
भदौ २३, २०७८

तेह्रथुम । बाक्लो बस्ती छैन । घर भए पनि केही टाढाटाढा छन् । जंगलनजिकै गाउँ छ । सुविधाको खोजीमा भएका घरवाला पनि पातलिँदै गएका छन् । भएका सबै जग्गाजमिन बाझिँदै गएका छन् ।
टारीखेतदेखि फाटिला टार यतिबेला झोरझाडी जंगलझै बनेका छन् । एक्लोदोक्लो हिँड्नै डर लाग्ने जंगलको रूपमा लिन थालेका छन् । मलिला र ओसिलो ठाउँतिर उतिसका विरुवा हुर्किन थालेका छन् । खेतीयोग्य जमिन नभएको पनि होइन । केही वर्ष अघिसम्म यही खेतबारीमा फलाएको अन्नबालीबाट राम्रो आम्दानी हुन्थ्यो । आफूले खाएर बचेको अन्नले परिवारको गर्जाे टार्न मुस्किल थिएन तेह्रथुम छथर गाउँपालिकाका केही बस्तीका नागरिकलाई । समयसँगै मानवबस्ती पातलिँदै जाँदा बाँदरको हैरानीको पीर थपिएको छ । दैवीप्रकोप, प्राकृतिक प्रकोपपछि यहाँका स्थानीयका लागि वन्यजन्तुको आंतक पनि एक प्रकोप बनेको छ । वर्ष दिनमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि यहाँका नागरिकले बसाइँ सर्ने विकल्प खोज्न थालेका छन । तमोर नदीसँगै जोडिएका बस्तीमा बाँदरका हुलले अन्नबाली सखाप पारेको वर्षांै भयो तर समस्याको समाधानको निम्ती स्थानीय सरकारले ध्यान नदिएको छथर–२ का भीमबहादुर थापाले बताए । मेहेनत परिश्रम गरी परिवार धान्न लगाएको बाली नै सखाप पार्न थालेपछि विकल्प नै बसाइँ सराइ बन्न थालेको हो । जंगली जनावरको ज्यादतीले वर्षौदेखि यहाँका किसान त्रसित छन् । पन क्षेत्रसँगै जोडिएका बस्तीहरू जंगली जनावरको ज्यादतीले स्थानीयलाई दिनदिनै झनै समस्या निम्त्याएको छ ।
विशेषगरी बांदरले पछिल्लो समयमा घरभित्र छिरेर घरमा जोहो गरेर राखेको मकै, कोदो, आलुजस्ता अन्नपात नस्ट गर्न थालेपछि स्थानीयवासी हैरानी हुँदै आएको शेरबहादुर कार्कीले बताए । “भएको सबै जमिन बाँझो भइसक्यो थोरै जमिनमा लगाएको बाली पनि सखाप परे अब बसाइँ सर्ने तयारीमा छु, ” उनले भने । पहिले बारीमा लगाएका अन्नबाली संकलन गर्नलाई बारीमा बाँदर लखेट्न रुगालु बस्नु पर्दथ्यो तर अहिले घरभित्र छिरेर अन्नपात साथै खाना पकाएको भाडासमेत बोक्न थालेपछि गाउभरि नै बांदरको आतंक बढेको कर्णबहादुर लिम्बुले बताए ।
लिम्बुका अनुसार अहिले अनिवार्य दिनभर घरमा बाँदर लखेट्न घर रुगालु बस्नु पर्ने बाध्यता रहेको छ । बांदर आतंकले स्थानीयले बारीमा लगाएको आलु, तोरी, तरकारी, उखुलगायतका बालीमा बांदरले उखाल्ने, चुटाउने, जथाभावी खोतल्ने, मकैको थाग्रोमा चढेर मकै खाने र पाक्न लागेका बाली खाने गरेको छ । बादंरको ज्यादती अत्यन्तै बढेकाले बसाइँ सर्नेहरु बढ्दो छ । गत वर्षमात्रै दर्जन बढी यहाँका स्थानीय बसाइँ सरी अन्यात्र गएका छन् । वासुुदेव भट्टराई, राजन भट्टराई, भीम थापा, भक्तबहादुुर कार्कीलगायत धेरै परिवार बसाइँ सरी अन्यात्र गई सकेका छन् । बसाइँ सर्ने ठाउँ भए र आफूमा बसाइँ सर्ने स्रोत भए तुरुन्त गाउँका १० घरधुरी जति बसाइँ सर्ने मनस्थितिमा रहेका तर बसाइँ सर्ने अनुकूलता नभएकाले बांदरको ज्यादती सहेर बस्न बाध्य भएको पीडितहरू बताउँछन् ।
बांदरको ज्यादतीकै कारण यस वर्षको बाली कसरी भित्र्याउने भनेर स्थानीयबासी चिन्तामा छन् । छथर गाउँपालिकाका सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या, हमरजुंग र आङदिमगाउँका सुख्खा क्षेत्रका गाउ बस्तीका स्थानीयबासीमा पनि जंगली जनावरले दुःख दिने पिरलोमा बर्सेनि पर्ने गरेका छन् ।
तमोरले छोएका जंगल र बस्तीमा सुख्खा बढेसँगै जंगली जनावारको आहारा कम हुन थालेकाले अहिले जंगली जनावार बस्ती नजिक हँुदै घरसम्म आउन थालेको स्थानीयबासीको भनाइ छ ।कारोवार दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*