यो देश मेरो हो : भूस्वर्गका दुर्लभ किन्नरीहरू
चाँदीझैं टल्कने हिमटाकुरा। काखमा हिउँ पग्लिएर बनेका हिमताल। विस्तारै खोलाको रूप लिँदै तालको निकास बग्छ। तलका समथर फाँट र थुम्का वन्यजन्तुका आश्रयस्थल हुन्। पर्यटक रमाउने भूस्वर्ग हुन् र हिमाली जनजीवनको मुटु पनि। यो हिमालको दृश्यलाई फेदमा रहेका पहाड र तराईले रङ भरेको छ/मुलुक बनेको छ।
नेपाल हिमालै हिमालको देश हो पनि हो। १५ सय हिमालमध्ये पाँच सय वटा नेपालमा पर्छन्। मुलुकको १५ प्रतिशत भूभाग हिमाली क्षेत्रमा छ। हिमाल जति सुन्दर छन् अनि त्यति नै समुन्नत र समृद्धिको सम्भावना बोकेका पनि। हिमाल चढ्न संसारभरका साहसिक पर्यटक झुम्मिँदा लोपोन्मुख सूचीमा रहेका वन्यजन्तु यतै रमाएको भेटिन्छन्। नेपालको हिमाल, पहाड र तराईले सौन्दर्यता बोकेर मात्रै बसेका छैनन्, लोप हुन लागेका वन्यजन्तु र जडीबुटीलाई पनि संरक्षण दिएका छन्।
ooo
कुन वन्यजन्तु हेर्ने ? गाइडको प्रश्नमा नेपाल आउने अधिकांश पर्यटकले निधार तन्काउँछन्। अद्भुत प्रकृति एवं आकर्षक वन्यजन्तु हेर्दा मक्ख पर्छन्। धेरैजसो आगन्तुकको रोजाइ कि ट्रेकिङ हुन्छ कि त वन्यजन्तुको अवलोकन। नेपाल भित्रिने कुल विदेशी पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढी राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र तथा अन्य संरक्षित ठाउँमा घुम्न जाने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। दुर्लभ वन्यजन्तु कृष्णसार (ब्ल्याक बक) हेर्न बर्दिया पुग्न सकिन्छ। कृष्णसार संरक्षण क्षेत्रबाट झन्डै ५० किलोमिटर पूर्व–दक्षिणमा जाँदा बर्दिया राष्ट्रिय निकुञ्ज पुगिन्छ। बर्दियाका साथै सीमा जोडिएको बाँके राष्ट्रिय निकुञ्जमा पुगे बाघलगायतको वन्यजन्तु देखिन्छ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे)।
मुुलुकका मुख्य निकुञ्ज क्षेत्रहरू (पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा) र आसपासका वन क्षेत्र र जैविक मार्गमा बाघ पाइन्छ। २ हजार मिटरदेखि ४८०० मिटर उचाइको वन क्षेत्रका २४ जिल्ला र ८ संरक्षित क्षेत्र (रारा, शे फोक्सुण्डो, लामटाङ, सगरमाथा, मकालु वरुण निकुञ्ज, ढोरपाटन सिकार आरक्ष तथा गौरीशंकर र कञ्चनजंघा संरक्षण क्षेत्र) मा हाब्रे (रेडपाण्डा) पाइएको छ। यी निकुञ्ज बाघका साथै हात्ती, गैंडालगायतका दुर्लभ वन्यजन्तुको अवलोकनका लागि प्रसिद्ध छन्। चितवन राष्ट्रिय निकुञ्जको स्थापनासँगै मुलुकमा संरक्षणको सुरुआत भएको हो। मुलुकमा २० संरक्षित क्षेत्र छन्। जसले मुलुकको कुल भू–भागको २३.३९ प्रतिशत ओगटेको छ।

मध्यनेपालको गौरीशंकर संरक्षण क्षेत्रमा दुर्लभ हिउँचितुवा पाइन्छ। यो प्रजाति हिमाली पर्यावरणीय स्वच्छताको प्रतीक मानिन्छ। मुलुकको हिमाली क्षेत्रमा ताप्लेजुङको कञ्चनजंघादेखि पश्चिममा अपी नाम्पा संरक्षण क्षेत्रसम्म फैलिएका १२ संरक्षित क्षेत्र हिउँचितुवाको वासस्थान मानिएको छ। हिउँचितुवा पाइने १२ मुलुकमध्ये नेपाल पनि पर्छ। नेपालमा चार सय वटासम्म हिउँचितुवा भएको अनुमान छ। यद्यपि, अहिलेसम्म हिउँचितुवाको देशव्यापी अध्ययन नभएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो क्षेत्रमा जंगली भेडा (नाउर) को पनि वास छ।

संखुवासभाको माथिल्लो क्षेत्रमा भेटिएको पुतली।
बाघदेखि बाह्रसिंगासम्म र मृगदेखि मयूरसम्मले विचरण गर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पर्यटकलाई लोभ्याउँछ। सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग स्थापना गरी यहाँ पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधतालाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने काम गरिरहेको छ। वन्यजन्तु र त्यहाँको जैविक विविधता संरक्षणका लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष, सरंक्षण क्षेत्र छन्। यो हिमालदेखि तराईका जिल्लासम्म नै छन्। हिमाली क्षेत्रका फूल बिरुवाहरूको फुल्ने होडबाजी हेर्नु र देख्नु अलौकिक छ। हिमाली क्षेत्रमा पाइने वन्यजन्तु हिउँचितुवा, सालक, ढोले, तिब्बतियन ब्वाँसो, हाब्रे, कस्तुरी मृग, चितुवा, नाउर, ब्वाँसो, मारमोट, घोरल, लंगुरलगायतलाई संरक्षण गरेर खुला चिडियाखानाका रूपमा पनि विकास भएको छ। हिमाल हेर्न र चढ्नको लागि मात्रै होइन जैविक विविधताको पनि खानी हो। यहाँको रहनसहनले पनि नयाँ स्वाद चखाइदिन्छ।

मनाङमा हिउँ चितुवाको गणनाका क्रममा क्यामेरा ट्रयापिङमा परेको हिउँ चितुवा।
‘मुड फ्रेस’ पार्ने हिमाल
पछिल्लो समय विदेशी पर्यटक मात्र नभई नेपालीमा पनि घुम्ने चाहना बढ्दै छ। खाली समय पाउनासाथ घुम्न हिँड्ने चलनले पनि नेपालीलाई नै हिमालको महत्त्व थप बुझाइदिएको छ। विषेशगरी असोज कात्तिकको समयमा धेरै नेपालीहरू हिमालको बेस क्याम्पसम्म पुग्छन््। अन्नपूर्ण, सगरमाथा, ल्होत्से, कञ्चनजंघा, मकालुलगायतका हिमालका बेसक्याम्पसम्म पुग्ने युवाको संख्या प्रत्येक वर्ष बढ्दै छ। ‘सहरको कोलाहल र कार्यालयको कामको धपेडीभन्दा अलि टाढा, सुन्दर र शान्त स्थानमा बस्न मन परेको बेला हिमाली क्षेत्रका फाँटहरूमा गयो भने मनमा साह्रै आनन्द आउँछ,’ एक विदेशी प्रोजेक्टमा काम गर्ने रोमा माबो भन्छिन्, ‘हिमालको काखमा पुगेपछि कामको थकाइलाई एकै क्षणमा भुलाइदिन्छ।’ हिमाल जति अग्ला हुन्छन् त्यति नै हिमाली फाँटहरू फराकिलो र समथर हुन्छन्। जहाँ हजारौँ फूलहरू एकसाथ फुलेका हुन्छ।

ताप्लेजुङको याम्फुदिन क्षेत्रमा भेटिएको मुनाल।
हेर्दा गजब, संरक्षणमा सकस
सन् २००९ मा मुलुकभर बाघको संख्या १ सय २१ थियो। सन् २०१३ मा वयस्क बाघको संख्या १ सय ९८ थियो। सन् २०१३ को तुलनामा करिब १९ प्रतिशतले बाघको संख्या बढेको छ। सन् २०१८ को गणनाअनुसार, बाघको संख्या वृद्धि भई २ सय ३५ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विभागका पर्यावरणविद् हरिभद्र आचार्य भन्छन्, ‘बाघको संख्यामा प्रतिबद्धता नजिक पुगिसकेका छौं। गणना गर्न बाँकी छ।’ नेपाललगायत विश्वको १३ मुलुकमा मात्र बाघ पाइन्छ। विश्वमै एकसिंगे गैंडाको दोस्रो ठूलो वासस्थान भएको चितवन निकुञ्ज हो। सन् २०१५ मा गरिएको गणनाअनुसार, मुलुकभर ६४५ वटा एक सिंगे गैंडा थिए। एक सिंगे गैंडा नेपाल र भारतमा मात्र पाइन्छ। पूर्वी तराईको कोसी नदीको वहाव क्षेत्रमा अवस्थित कोसी टप्पु वन्यजन्तु आरक्ष विश्वकै अति दुर्लभ अर्नाको लागि चर्चित छ। २०७२ सालमा गरिएको गणनामा अर्नाको संख्या ४ सय ३२ थियो। पछिल्लो गणनाबाट यसको संख्या ४ सय ४१ पाइएको छ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको जंगलमा भेटिएको सालक।
२०३२ देखि २०७४ को गणनाको आधारमा अर्नाको वार्षिक वृद्धिदर ८ दशमलव १ प्रतिशत रहेको विभागले जनाएको छ। वन्यजन्तुको संरक्षणको प्रयासका कार्यक्रमपछि वन्यजन्तुको संख्यामा वृद्धि भएको विभागका पर्यावरणविद् आचार्यको भनाइ छ। झन्डै ४० वर्षयता मुलुकमा गरिएको वन्यजन्तु संरक्षणमा केही आशातित सुधार देखिएको छ। वन्यजन्तुको संख्या सुधारोन्मुख छ। कुनै बेला सयको हाराहारीमा रहेको गैंडाको संख्या सात सय नाघेको छ।
पर्न छाड्यो हिउँ
हिमाली क्षेत्रमा हिउँ कम पर्न थालेको छ। हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा भए। हिउँ परे पनि पहिलेको जस्तो निश्चित समयमा पर्दैन। कुवा र धारामा पानी जमेर सिसाजस्तै भए पनि हिउँ भने पर्र्दैन। ‘पछिल्लो केही वर्षयता चिसो अत्यधिक बढ्छ, आकाश खुला हुँदा हावा चलिरहन्छ,’ ताप्लेजुङको हिमाली गाउँ घुन्साका तेन्जिङ शेर्पाले भने, ‘तर, अघिल्ला वर्षहरूमा बाह्रैमहिना हिउँले ढपक्क ढाक्ने पहाड काला छन्।’ किसानहरूको हिउँसँगको सम्बन्ध निकै गहिरो छ। घुन्साका टासी शेर्पा भन्छन्, ‘हिउँ परेन भने खडेरी लाग्छ।’ हिउँ नपर्दा स्थान पिच्छेका बासिन्दालाई फरकफरक पीडा पनि छ। कुनै क्षेत्रका स्थानीयलाई बालीनाली बिग्रिन्छ कि भन्ने चिन्ता हुन्छ।

ताप्लेजुङको हिमाली क्षेत्रमा भेटिएको डाँफे।
मौसमी रूपमा हिउँपर्ने स्थानमा हिउँ परेपछि घुम्न आउने पर्यटकलाई लक्षित गर्दै व्यवसाय गरेर बसेकालाई हिउँ खेल्न आउने ग्राहक नआउने हुन् कि भन्ने पिरलो हुन्छ। बेमौसमको हिमपातले हिमताल फुट्ने, नदी कटान र भूक्षयको जोखिम निम्त्याउने गर्छ। अनुकूल मौसमको हिमपातले जमिनको भित्र तहलाई चिस्यान भर्न रिचार्ज गर्ने भएकाले हिउँदयामको हिउँ वरदान मानिएको हो। अनुकूल मौसमको हिमपातले जमिनको उर्वराशक्ति बढाउनुका साथै अन्नबालीमा लाग्ने विभिन्न रोगहरूको रोकथाम गर्न सघाउ पुर्याउने गर्छ।
हिउँ नपर्दा खर्कहरूमा आगलागीको जोखिम पनि उत्तिकै हुन्छ। गत हिउँदमा पाथीभरा क्षेत्रको वनमा लगेको डँढेलो दुई सातापछि मात्रै डँढेलो नियन्त्रणमा आयो। डँढेलोले प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर नै जोखिममा परेको थियो। हेलिकप्टरबाट पनि डँढेलो नियन्त्रणको प्रयास गरियो। दुई साताभन्दा बढी लागेको डँढेलोले रूख र गोब्रे सल्लाका वर्षौं पुराना रूख जले। हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले हाब्रेको आहार मालिंगोसमेत जल्दा कति दुर्लभ रेडपाण्डा (हाब्रे) तितरबितर भएको बताउँछन्।

मुस्ताङको जोमसोममा फेला परेको लोपोन्मुख हिमाली गिद्ध।
मासिँदै वासस्थान
वन क्षेत्र नै वन्यजन्तुको प्रमुख वासस्थान हो। पछिल्लो समय वन्यजन्तुको वासस्थानको विनाश भइरहेको छ। अवैज्ञानिक हिसाबले तयार गरिने भौतिक पूर्वधार, विवेकविहीन मानवीय क्रियाकलाप र वातावरण प्रदूषणका कारण वन्यजन्तुको विनाश र उत्पत्ति निरन्तर भइरहन्छ। वन्यजन्तु विनाशको प्राकृतिक प्रवृत्तिलाई मानवीय क्रियाकलापले तीव्रता ल्याउने गर्दछ यसलाई वन्यजन्तुको कृत्रिम कारण भन्न सकिन्छ। अहिले नेपालमा यी विविध कारणले वन्यजन्तु विनाश हुँदै गइरहेका छन्। अविवेकी मानवीय क्रियाकलापले गर्दा बाढी, पहिरो, भूक्षय, खडेरीलगायतका अन्य प्राकृतिक प्रकोपले वन्यजन्तुको वासस्थान नै विनाश भइरहेको छ।
यस्तै तीव्र गतिमा बढिरहेको जनसंख्या वृद्धिका कारण मानिसहरूले वन्यजन्तुको वासस्थान तहसनहस पारेका छन्। वनक्षेत्र हुँदै गरिने विकासले वन्यजन्तुको वासस्थानलाई खण्डीकरण गरेको छ भने विकास पछि हुने चहलपहलले पनि धेरै ठूलो असर गरेको छ। पछिल्लो समय विकासका नाममा भइरहेको सडक विस्तारले सबैभन्दा बढी वन्यजन्तुको वासस्थानमा असर गरिरहेको छ। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलाई कुल्चेर स्काभेटरको चालकले नै सडक खनेपछि प्राकृतिक विपत्ति निम्ताएको त छ नै, वन्यजन्तुको वासस्थान पनि खण्डीकरण भएको छ। आधुनिकीकरणसँगै मानवीय क्रियाकलापले वायुमण्डल जताततै प्रदूषित बनाएको छ।
पर्यटकको मुख्य गन्तव्य बनेका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रहरू अतिक्रमणको चपेटामा छन्। मानवीय गतिविधिले वन्यजन्तुको वासस्थान खुम्चिएको छ। गुलरिया–२ खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्र ७ सय ८ बिघा क्षेत्रफलमा फैलिएको थियो। हाल करिब ३ सय ५० बिघा क्षेत्रफल अतिक्रमण भई घर टहरा बनिसकेको छ। वन्यजन्तु पनि आहाराको खोजीमा वा बाटो बिराएर मानव बस्तीमा ज्यान लिएको घटनाहरू बढ्दै गएका छन्। जंगलमै मासु, घास, पानीको व्यवस्थापन गर्नुपर्छ। सीमित क्षेत्रफलमा वासस्थानको पनि व्यवस्थापन गर्नु पर्छ।

ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा पाइने नाउर।
वन्यजन्तुमा अपराध
वन्यजन्तु खुला अनि साझा सम्पत्ति मानिन्छन्। यहीं सम्पत्तिको अवैध ढंगले व्यापार भइरहेको छ। वन्यजन्तुको अंग अन्तर्राष्ट्रिय बजारमा महँगोमा बिक्री हुन्छ। गलैंचा, विलासी सजावटका सामग्री तथा ट्याक्साडर्मी (मरेका वन्यजन्तुलाई सचिव आकार दिने काम)को लागि पनि वन्यजन्तुको बजारमा माग बढ्दो छ। बाघको छाला, दाह्रा, नङग्रा अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ। त्यस्तै गैंडाको खाग र खुरको माग बढी छ। हात्तीको दाह्रा र पुच्छरको रौं बिक्री हुन्छ। त्यस्तै हिउँचितुवाको छालासहितको पञ्जा, दाँत र हड्डीको माग छ। यसको हड्डीलाई पारम्परिक चिकित्सामा बाघको हड्डीको विकल्पको रूपमा प्रयोग गरिन थालिएको छ। चितुवाको छाला र हड्डी र मृगको मासुको माग छ। कृष्णसारको कान, नाइटो पुच्छर चोरी सिकारीको टार्गेट हुने गरेको छ। 
त्यस्तै भालुको पित्त, कस्तुरीको बिनाको माग छ। बाघलाई स्पेस पनि दिनुपर्छ। बाघको चोरी सिकारी पनि बढी हुने गर्छ।’ इकालोजिस्ट आचार्यले भने, ‘गैरकानुनी ढंगले सिकार गरे पछि चोरी तस्करी हुने उत्तरतिरै हो। दक्षिणतिर जाँदैन।’ हङकङ, चीन हुँदै युरोपेली एवं खाडी मुलुकसम्म पुग्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, संरक्षित वन्यजन्तुको सिकार गर्न निषेध गरेको छ। गैरकानुनी तरिकाले मारे, घाइते बनाए वा शरीरको कुनै पनि अंगलाई किनबेच गरे पाँच लाखदेखि १० लाख जरिवाना वा ५ देखि १५ वर्षसम्मको जेल सजाय वा दुवै प्रकारको सजायको भागीदार हुनुपर्ने व्यवस्था गरेको छ।
मानव–वन्यजन्तु द्वन्द्व
वन्यजन्तु र मानवबीचको द्वन्द्व चुनौतीको रूपमा देखिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार, सन् २०१९ यता बाँके, बर्दिया र कैलाली जिल्लामा बाघको आक्रमणबाट २३ जनाको ज्यान गएको छ। त्यस्तै वन्यजन्तुबीचको द्वन्द्व पनि छ। कृष्णसारलाई भुस्याहा कुकुर, हुँडार, चितुवाले आक्रमण गर्छ। हिउँचितुवाले नाउर, झारलजस्ता जन्तुको सिकार गरी खाने गर्छ। आहारा नपाउँदा यदाकदा सानातिना याक, चौरीलाई समेत आक्रमण गर्छ। यसले गर्दा हिमाली क्षेत्रका पशुपालकले रिसको झोंकमा हिउँचितुवालाई आक्रमण गर्छन्। बँदेल, बाँदर र दुम्सीले मध्यवर्ती क्षेत्रमा बालीनाली बिगारेर स्थानीयलाई पिरोल्छन्। त्यस्तै हात्ती, बाघले मानवमाथि नै आक्रमण गर्छन्।
निकुञ्जभित्र घाँस, मासु, पानीको व्यवस्थापन गर्नुपर्ने चुनौती छ। यसैको लागि पनि द्वन्द्व हुन्छ। पर्यावरणविद् आचार्य ठूलो प्रजाति थ्रेटमा हुने बताउँछन्। ‘द्वन्द्वको अवस्थामा बलियोले निर्धोलाई सिध्याउने हो।’ आचार्य भन्छन्, ‘मान्छेसँग मुठभेड हुने कारणले पनि खतरा हुन्छ। कञ्चनजंघा, अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रमा पशुधन बिमा योजनाको सुरुआत भइसकेको छ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (दोस्रो संशोधन,२०७४) अनुसार, (हात्ती, गैंडा, बाघ, भालु, चितुवा, जंगली बँदेल, ध्याँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, मगर गोही, अर्ना, गौरिगाई र अजिंगर)ले संरक्षित क्षेत्र र वन क्षेत्रबाहेक अन्यत्र प्रवेश गरी मानिसको मृत्यु भएमा परिवारलाई १० लाख दिने व्यवस्था गरिएको छ। सख्त घाइतेको प्रकृति हेरी कागजात र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा बढीमा दुई लाखसम्म औषधोपचार खर्च राहत व्यवस्था छ। संशोधित निर्देशिकाले वन्यजन्तुले पशुधनको क्षति गरेमा बढीमा ३० हजार, घर/गोठको क्षति गरेमा बढीमा १० हजार र खाद्यान्न बालीको क्षति गरेमा बढीमा १० हजार राहत दिने व्यवस्था छ।
ooo
‘हिउँचितुवा’ खोज्दै सुवेदी

मनाङको नार्पा भूमिमा हिउँचितुवा रिसर्च गर्दै हिउँचितुवा विज्ञ अशोक सुवेदी। तस्बिर : एनटीएनसी एक्याप
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा कार्यरत संरक्षण अधिकृत एवम् हिउँचितुवा विज्ञ कास्की पोखराका अशोक सुवेदी यतिबेला मनाङको नार्पा भूमि गापाको पर्वतीय क्षेत्रमा छन्। सुवेदी लामो समयदेखि हिउँचितुवासम्बन्धी विभिन्न खोज अनुसन्धान तथा त्यसमा रुचि राख्दै आइरहेका छन्। उनी सो विश्वविद्यालयबाट विद्यावारिधि अर्थात् (पीएचडी) कोर्सको लागि चार वर्षीय हिउँचितुवासम्बन्धी प्राविधिक अध्ययन गर्ने उद्देश्यले अहोरात्र मनाङमा खटिएका छन्। सन् २०१९ को जुलाईदेखि समुद्री सतहदेखि चार हजार मिटरको अग्लो उचाइको मनाङस्थित नार्पा भूमि गापाको पर्वतीय क्षेत्रमा उनले हिउँचितुवा रिसर्च सुरु गरेका हुन्।
उनका अनुसार हिउँचितुवासम्बन्धी यस प्रकारको अध्ययन नेपालका लागि पहिलो भएको दाबी गरे। हिउँचितुवाको थर्मल इनर्जी ल्यान्ड स्केप अर्थात् हिउँचितुवाको लागि चाहिने शरीरको तापक्रम सन्तुलन गर्दा आवश्यक पर्ने इनर्जीमा आउने परिवर्तन पर्वतीय क्षेत्रको उचाइअनुसार कति निर्भर रहन्छ भन्ने सम्बन्धमा आफूले रिसर्च गरिरहेको उनले बताए। पर्वतीय क्षेत्रको उचाइमा सोलार/प्यानल ल्याउने, लैजाने, इकुमेन्ट टुटफुट हुने र हराउने सम्भावना बढी रहेको उनले खुलाए। पर्वतीय क्षेत्रमा वातावरणीय तापक्रम तथा हिउँचितुवाको शारीरिक तापक्रममा पार्ने प्रभाव र त्यसको व्यवस्थापनसम्बन्धी रिसर्चका लागि सामान्य प्रकारले हिउँचितुवाको मोडल खाकासमेत उनले तयार पारेका छन्।
मनाङको नार्पा भूिम गापाअन्तर्गत समुद्री सतहदेखि ५५ सय मिटरको अग्लो उचाइको क्षेत्रमा उनले हिउँचितुवा रिसर्च गरेका हुन्। पर्वतीय क्षेत्रमा पाँच/पाँच सय मिटरको दूरीमा आठ वटा वातावरणीय स्टेसन खडा गरेका छन्। सो स्टेसन उनले उत्तर/दक्षिण मोहडामा फर्काएर उपकरण राखेका छन्। यसरी दुई दिशामा राखिएका स्टेसनका उपकरणले हावाको गति, तापक्रम र सूर्यबाट आउने बिकिरण मापन गर्दै कति ऊर्जा फर्किन्छ भन्ने लगायतको लेखा स्टेसनको सहायताले मापन गर्ने सरक्षण अधिकृत सुवेदीले बताए। मनाङको नार्पा क्षेत्रको ४२ सय मिटरको उचाइको दुई ठाउँमा दुई वटा स्टेसन जडान गरेका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा माउन्टेन स्प्रिडको संयुक्त टोलीले मनाङका विभिन्न क्षेत्रमा हिउँचितुवा गणना कार्य सम्पन्न गरेको छ। संरक्षण अधिकृत अशोक सुवेदीसहितको टोली ६ जना र अन्य ८ जना गरी १६ जनाको टोलीले मनाङमा क्यामेरा ट्र्यापिङ गर्दै हिउँचितुवा गणनाकार्य सुरु गरेको थियो। यो समाचार आजको अन्नपूर्णपोष्टमा प्रकाशित भएको छ ।



















