ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइयो

वेलकम खबर
भदौ १६, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ।जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो।

जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि निषेधाज्ञाको समय थप गरिरहनु नपर्ने निष्कर्षमा आफू पुगेको बैठकमा प्रजिअ पाण्डेले सुनाए। जिल्ला कोरोना सङ्कट तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रजिअ पाण्डेले बुधबारदेखि लागू हुनेगरी निषेधाज्ञा हटाए पनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने बताए।

उनले मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्नेजस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पालना सबै नागरिकले अनिवार्य गर्नुपर्ने बताए। उनका अनुसार मास्क नलगाएको र भौतिक दूरी कायम नगरिएको पाइएमा प्रारम्भिक रुपमा प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना हुने जानकारी दिए। बाँकी स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गरेमा सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाही हुने पनि सम्बन्धित सबै पक्षलाई सचेत गराए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*