सङ्कटमा तयारी नेपाली पोशाक
काठमाडौं ।चारैतिर घटङटङ…घटङटङ…मेसिनको आवाज । कामदारहरू आफ्नै सुरमा कपडा सिलाउँदै । सायद, कुन बेला दिन बित्छ पत्तै हुँदैन ।
तिनै ९०/९१ जना कामदारहरूसँग भलाकुसारी गर्दै कपडा सिलाउँदा अथवा तयार पार्दा आवश्यक पर्ने सामान यत्ता–उत्तागर्दै बित्छ, शिव प्रसाद भट्टको दैनिकी काठमाडौंको नयाँबजार स्थित आफ्नै तयारी पोशाक उद्योग शिभ शक्ति गार्मेन्टमा । यस्तै सन्तोष पोखरेलले पनि आफ्नै उद्योग लुक्स इन्टरप्राइजेजमा यसरी नै दिन बिताइरहेका छन् ।
डेढ वर्षदेखि उनीहरूको दैनिकीमा कोरोना बाधक बनेको छ । चीनको वुहान शहरबाट सन् २०१९ को अन्तिम महिनाबाट सुरु भएको कोरोना भाइसले विश्वको अर्थतन्त्रलाई सङ्कटमा पु¥याएको छ । विश्वको २२० देशभन्दा धेरै ठाउँमा फैलिएको कोरोना महामारी अझै पनि नियन्त्रण बाहिर छ । अझ नयाँ नयाँ ‘भेरियन्ट’मा देखा पर्दैछ । महामारीका कारण विश्वका ठूल्ठूला शहरहरू बन्द भए । सँगै आर्थिक गतिविधि पनि प्रभावित । विश्वका प्रायःजसो सबै क्षेत्रलाई महामारीले नराम्रोसँग प्रभाव पा¥यो ।
नेपालपनि कोरोनाले सबैभन्दा धेरै प्रभाव परेको देशमध्ये ४०औं स्थानमा पर्छ । कोरोना महामारीले नेपालमै उत्पादन हुने तयारी पोशाक उद्योगमा नराम्रो प्रभाव परेको छ ।
लकडाउन र निषेधाज्ञाको चपेटा
कोरोना महामारी फैलावटमा कम गर्न नेपालमा २०७६ चैत ११ गतेबाट देशव्यापीरूपमा लकडाउन भयो । लकडाउनका कारण सबै क्षेत्र ठप्प भए । विषेश गरी व्यापार–व्यवसायमा धेरै प्रभाव पा¥यो । लकडाउनकै चपेटामा तयारी पोशाक उद्योग पनि प¥यो ।
१२ वर्ष अघिबाट शिभ प्रसाद भट्टले काठमाडौंको नयाँ बजारमा शिभ शक्ति गार्मेन्ट खोलेका थिए । जहाँ ९० जना श्रमिक थिए । कोरोना महामारी र लकडाउनले तीन महिना बन्द भयो । सँगै तिनीहरू काम विहीन भए । पछि केही हद सम्म कोरोना भाइरस संक्रमण न्यूनीकरण भएकाले लकडाउन खुल्यो ।
विस्तारै सबै व्यवसायहरू अलि चलायमान हुन थाले । शिभ प्रसादले पनि पुराना कामदार बोलाउँदै काम शुरु गर्न लागे । तर, व्यवसाय सञ्चालनमा ल्याए पनि अन्तर्राष्ट्रिय हवाई उडान ठप्प भएका कारण कपडा निर्यात हुन पाएन । कपडा गोदाममै थन्किए । ‘निर्यात ठप्प भए पनि हवाइ उडान खोलिने आशामा कपडा तयारी गर्ने काम निरन्तर रह्यो’ उनले भने,‘विस्तारै अन्तर्राष्ट्रिय हवाई उडान खोलियो । तर, भने जस्तो सामान निर्यात हुन भने सकेन ।’
फेरि कोभिड–१९ को महामारीको दोस्रो लहरसँगै २०७८ बैशाख १६ गतेबाट निषेधाज्ञामा मुलुक गयो । दोस्रो लहर न्यूनीकरणमा उपत्यकाका तीन वटै जिल्लाहरू काठमाडौँ, ललितपुर, भक्तपुर निषेधाज्ञामा गए । जसले शिभ प्रसादको गार्मेन्ट पनि बन्द हुन पुग्यो ।
यस्तै एक वर्ष अघि पहिलो लकडाउन खुलेसँगै सन्तोष पोखरेलले सञ्चालनमा ल्याएको लुक्स इन्टरप्राइजेज पनि शुरुवातीसँगै कोरोना भाइरसको चपेटामा प¥यो । लकडाउन खुले पछि १२/१३ लाखकोे लागतमा पोखरेलले उक्त उद्योग सञ्चालनमा ल्याएका हुुन् । ‘लकडाउन खुकुलो भएपछि कोरोना पनि विस्तारै हराउँला भन्ने आशमा व्यवसाय सुरु गरे । उनको उद्योग पनि निषेधाज्ञाको चपेटामा प¥यो । पोखरेल भन्छन्,‘निषेधाज्ञा भए पनि कपडाका काम निरन्तर रहे । तर, सबै गोदाममा थन्क्याउनु प¥यो ।’

पुरानो अवस्थामा फर्कन्दै
निषेधाज्ञा विस्तारै खुकुलो भए पनि कोभिड–१९ को नयाँ नयाँ भेरियन्ट देखा परे पछि पूर्ण रूपमा खुकुलो हुन सकेको छैन । तयारी पोशाक उद्योगहरूले काम सुरु गरेता पनि बजारमा बिक्री र विदेश निर्यात सहज भएको छैन । शिभ शक्ति गारमेन्टका सञ्चालक शिभ प्रसादले नयाँ भेरियन्ट त्रासका कारण व्यवसायलाई पुरानो अवस्थामा फर्कन कति समय लाग्छ भन्न नसकिने पैदा भएको बताउँछन् । उनी भन्छन्, ‘भोलि के हुन्छ भन्न सकिँदैन । विस्तारै कोेरोेना नियन्त्रण हुँदै गए व्यवसायलार्ई पुरानोे अवस्थामा फर्काउन ३/४ वर्ष लाग्ला ।’
उता लुक्स इन्टरप्राइजेजका सञ्चालक सन्तोष पोखरेलको भनाइ पनि उस्तै छ । उनी भन्छन्, ‘पुरानै स्थितिमा फर्कन २/३ वर्ष भन्दा कमले होला जस्तो लाग्दैन ।’
अधिक घाटामा व्यापारी
पहिलो लकडाउन तीन महिना पुरै उद्योग बन्द भयो । लकडाउन खुले पछि उद्योग सञ्चालनमा आए पनि कपडा बिक्री साथै विदेश निर्यात नहुँदा सतप्रतिशत घाटा भएकोे शिभ शक्ति गारमेन्टका सञ्चालक शिभ प्रसाद बताउँछन् । निषेधाज्ञा खुकुलोे भएसँगै विस्तारै अन्तर्राष्ट्रिय हवाई उडान पनि खुल्न थालेको छ । तर, कोरोना अघि प्रतिकेजी १५० रूपैयाँमा ढुवानी गरिएको कपडा प्रतिकेजी ५०० रूपैयाँ पुगेको उनी बताउँछन् ।
यस्तै कपडा निर्यात पनि ३० प्रतिशत मात्र हुने गरेको बताए । कपडा तयार भए पनि बिक्री नहुने भएका कारण धेरै कपडा गोदाममा नै थन्किएकोले ५० प्रतिशत घटा बेहोर्नु परिरहेकोे लुक्स इन्टरप्राइजेजका सञ्चालक सन्तोष पोखरेल बताउँछन् । कोरोनाका कारण तयारी पोशाक उद्योगहरू घाटामा गएर धेरैले व्यावसाय बन्द गर्नु परेको व्यवसायीहरू बताउँछन् ।
कच्चापदार्थ कहाँबाट आयात
तयारी पोशाक नेपालमा उत्पादन गरिए पनि कटन कपडा बाहेक सबै कच्चा पदार्थ विदेशबाट आयात हुन्छ । कच्चा पदार्थमा धागो भारतबाट र अन्य सबै सामान चीनबाट आयात हुने व्यवसायीहरू बताउँछन् । कच्चा पदार्थ विदेशबाट आयात हुने र कर महँगो साथै आयात प्रक्रिया झण्झट भएका कारण उद्योग सञ्चालनमा कठिन भएको शिभ प्रसाद बताउँछन् ।
कच्चा पदार्थ विदेशबाट आयात गर्नु परेकाले समयमा सामान प्राप्त नहुने र भने जस्तो कपडा तयार गर्न नसकिने सन्तोष पोखरेल बताउँछन् । तयारी पोेशाक विदेश निर्यात गरे पनि कच्चा पदार्थ भने विदेशबाट नै आयात गर्नु परेकोेमा दुःख व्यक्त गर्छन् व्यावसायीहरू ।
सरकारबाट सहुलियत
सरकारबाट सहुलियत खासै केही नपाएको तयारी पोेशाक व्यवसायीहरू बताउँछन् । पुर्न कर्जामा २० प्रतिशत छूट दिएको र अन्य सहुुलियत भने नभएको शिभ शक्ति गार्मेन्टका सञ्चालक शिभ प्रसादले बताए । तर, लुक्स इन्टरप्राइजेजका सञ्चालक सन्तोष पोखरेलले भने त्यस्तोे केहीमा छूट नपाएको बताए ।
प्रतिस्पर्धात्मक बजार भएकाले केही दबाब भए पनि गुणस्तरीय र राम्रो बनाउन सकिए राम्रोे हुने सन्तोष पोखरेलले बताए । साथै लकडाउन पछि विदेशी कपडा धेरै आयात नभएका कारण निषेधाज्ञा पछि केही मात्रामा तयारी पोशाकले बजार राम्रो पाउन थालेको बताए । तर, विदेश निर्यात भने घटेको उनले बताए ।
विदेशमा माग बढे पनि अन्तर्राष्ट्रिय हवाइ उडान नियमित हुन नसकेकोे र विभिन्न देशले नेपाललाई ‘रेड–जोेन’मा राखेको कारण माग अनुसारको कपडा निर्यात हुन नसकेको शिभ प्रसाद बताउँछन् ।

सरकारबाट के अपेक्षा
कोरोेनाले एउटा व्यवसाय एउटा देश मात्र नभई सबै क्षेत्रमा नै प्रभाव पारेकोले सरकारबाट त्यस्तो ठूलो अपेक्षा नलिएको तयारी पोेशाक व्यवसायीहरू बताउँछन । ‘कोरोेना सरकारले चाहेर हामीले चाहेर आएको होइन, यसले विश्वलाई नै प्रभाव परेकोे छ । सरकारबाट त्यस्तोे खासै अपेक्षा छैैन । करमा केही छुुट र अबकोे विकल्प भनेकोे नै कोरोना खोप होे । सम्पूर्ण व्यवसायीहरूले पनि कोरोेना खोप चाँडै पाउनुपर्छ भन्ने अपेक्षा लिएको छु’ शिभ प्रसादले भने ।
यस्तै सन्तोष पोखरेल भन्छन्, ‘अब कोरोना नियन्त्रण कहिले हुन्छ थाहा छैन । नयाँ नयाँ भेरियन्टहरू फेला पर्न थालेकोे छ । सरकारले अब लडकडाउन र निषेधाज्ञाकोे सट्टामा खोपलाई प्राथमिकता दिनुपर्छ र अबको विकल्प पनि यही नै हो ।’
तयारी पोशाक उत्पादनका अवस्था
नेपालमा सन् १९८० को दशकमा तयारी पोशाक उद्योग सञ्चालनमा आएको हो । विकासको दौरानसँगै भारत र पाकिस्तान सहित धेरै एशियाली देशहरू तयारी पोशाको उत्पादन र विकाश भएको पाइन्छ ।
सन् १९९० को दशकमा पुग्दा एक हजार बढी उद्योग सञ्चालनमा आएको तथ्याङ्कमा उल्लेख छ । त्यो बेला निर्यात ३८९ लाख डलर सम्म पुगेकामा सन् २००३ पछि भने विस्तारै उद्योग खस्कन गई हाल ५०/५५ को हाराहारीमा मात्र उद्योग सञ्चालन भइरहेको छ । तयारी पोशाक क्षेत्र विदेशी मुद्रा आर्जन र रोजगारीको एक ठूलो रोजगारीको अवसर भए पनि खस्कन्दो अवस्थामा पुगेको छ ।
नेपालमा सन् २००२ अघि तयारी पोशाकको बजार र निर्यात् राम्रो भए पनि विभिन्न कारणले उद्योग बन्द भएर समस्या आएको हो । दुई हजार भन्दा बढी सिलाइका उपकरण त्यसै थन्किएर बसेको छ । ती उपकरणलाई सञ्चालनमा ल्याउन सरकारको सहयोगको खाँचो भएको व्यवसायीहरु बताउँछन् । यस सँगै आवश्यक कच्चा पदार्थ स्वदेशमैै उत्पादन गर्ने तर्फ पनि व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपालमा दर्ता भएकोे तयारी पोशाक उद्योग मध्ये ४० देखि ३० प्रतिशत मात्र उद्योग सञ्चाल भइरहेको नेपाल तयारी पोशाक संघका अध्यक्ष चाँदनी प्रसाद अर्यालले बताए । उनका अनुसार, उद्योग सञ्चालनमा नआउनुको मुख्य कारण कोरोना महामारी साथै कच्चा पदार्थको अभाव हो । अझ उद्योग सञ्चानमा आउने राम्रो वातावरण पनि छैन । कोरोनाका कारण सञ्चालनमा आएका धेरै उद्योग बन्द हुने स्थितिमा पुगे । साथै धेरैले उद्योग बन्द पनि गरे ।
यतिखेर उद्योग दर्ता गर्नेको संख्या पनि शून्य जस्तै भएको भनाइ उनको छ । आवश्यक कच्चा पदार्थ स्वदेशमा उत्पादन हुने र तयारी पोशाकमा सरकारको विशेष ध्यान पुगे यो क्षेत्रलाई चलयमान बनाई यही क्षेत्रमा आत्मनिर्भर हुन सकिने उनले बताए ।
निर्यातमा घाटा
गत आर्थिक वर्षमा तयारी पोशाकको निर्यात ५ अर्ब ११ करोड रूपैयाँ बराबर थियो । अर्यालका अनुुसार, अझ अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ३७ करोड रूपैया बराबरको तयारी पोशाक निर्यात भएको थियो । अघिल्लो वर्षको तुुलनामा गत वर्ष १ अर्ब २६ करोेडको हारा हारीमा घाटा भएकोे छ ।
विषेश गरी नेपालमा तयार कपडा संयुक्त राज्य अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्स, नेदरल्याण्ड्स, बेलायत, स्वीट्जरल्याण्ड, स्पेन, इटाली, अष्ट्रेलिया, भारत लगायतका देशमा निर्यात हुने गर्छ ।
तयारी पोशाक उद्योगमा विषेश गरि रेडिमेड कपडा बनाइन्छ । साथै ग्राहकको माग अनुसार परम्पराग तहोस् वा फेसनेवल होस् कपडा तयार गरिन्छ । तयारी पोशाक उद्योगमा विशेष गरी कोट, ज्याकेट, जम्पर, जम्प सूट, शर्ट, ब्लाउज, स्कर्ट र ट्राउजर–ज्याकेट जस्ता कपडाहरू बनाइन्छ ।
योजना र भावी रणनीति
तयारी पोशाक उद्योगकोे सरकारी संख्या शून्य रहेको उद्योग विभागले जनाएको छ । कोेरोनाका कारण प्रभाव परेको तयारी पोशाकलाई निर्यातमा ५ प्रतिशत अनुदानको व्यवस्था गरिएको उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र भुसालले बताए । उनले भने, ‘कोरोनाले तयारी पोशाक क्षेत्र चौपट नै पारेको छ । अब यसलाई चलयमान बनाउन उद्योग विभागले ५ करोड रूपैयाँ बराबरको कपडा निर्यात गरेमा ५ लाख अनुदानकोे व्यवस्था गरेको छ ।’ साथै कुनै पनि सहुलियत र कर्जाको भने व्यवस्था उद्योग विभागले नगरेको उनले बताए ।
तयारी पोशाक रोजगारीको राम्रो माध्यम भएको लुक्स इन्टरप्राइजेजमा उद्योग सुरु भएदेखि नै कामगर्दै आएका नेत्र नेपाली बताउँछन् । उनले यही कामबाट आफ्नो परिवारको गुजारा चलाइरहेका छन् । निषेधाज्ञामा बन्द भए पनि भित्रै बसेर काम गरे, तर सबैले होइन । उनी लगायत ६/७ जनाले काम जारी राखे ।
उनी भन्छन्, ‘विदेश भूमिमा गएर पसिना बगाउनु भन्दा नेपालमा नै केही गर्नु ठीक लाग्छ । कामले कोही ठूलो सानो भन्दैन । सबै कुरो मिहेनत हो ।’
यस्तै अर्का कामदार फिरोज मियाँ पनि यही काममा सन्तुष्ट भएको बताउँछन् । उनले भने, ‘काम यति गर्नुपर्छ नै भन्ने छैन, पैसा कपडा तयारको आधारमा पाइने होे । धेरै कपडा तयार गर्न सकियो भने पैसा पनि धेरै नै पाइन्छ । यो लाइनमा आएर काम गर्न सकिए धेरै राम्रोे हुन्छ । तर, सिपकोे भने आवश्यक पर्छ ।’
साथै कोरोना नियन्त्रणको विकल्प लकडाउन निषेधाज्ञा मात्र नभएको भन्दै अब लकडाउन वा निषेधाज्ञा गर्नु हुँदैन भन्ने पक्षमा सबै कामदार छन् । आफूहरू जस्तो मजदूरलाई पनि कोरोेना खोपको व्यवस्था गर्नु पर्ने माग उनीहरूको छ ।

अझै नेपाल विदेशी कपडामै निर्भर
नेपाली पनि धेरै जसो विदेशी कपडामा निर्भर छन् । कपडाको निम्ति वर्षेनी अरबौ नगद विदेशिन्छ । यसको मुख्य कारण नेपालमा गुणस्तरीय कपडा उत्पादन नहुनु हो । नेपालमा कपडा उपत्पादन भए पनि कच्चा पदार्थ भने अन्य देशबाट आयात गर्नु बाध्यात्मक परिस्थिति छ । विदेशबाट भने जस्तै गुणस्तरीय कच्चा पदार्थको आयात नहुुन र नेपालमा कच्चा पदार्थ नबनिनुको कारणले हामी विदेशी कपडामा निर्भर हुनुपरेको नेपाल तयारी पोशाक संघका अध्यक्ष अर्यालले बताए ।
विदेशी कपडाको निर्भरता अन्त्य गर्न कच्चा पदार्थ उत्पादन गरी गुणस्तरीय कपडा तयार गर्नु पर्ने भनाइ व्यवसायीहरूको छ । साथै यसमा नेपाल सरकारबाट पनि पहल हुन जरुरी रहेको उनीहरूको भनार्ई छ । नेपालमा तयारी पोशाक बनिए पनि विदेशकोे जस्तोे राम्रो ‘फिनिसिङ्’ हुन नसकेको रकच्चा पदार्थको गुणस्तरीय नहुँदा बजार लिन नसकेको देखिन्छ ।
तयारी पोशाकको विकल्पमा अरु के-के ?
नेपालका युवा पुस्ताहरू विषेश गरी रोजगारीका लागि विदेश पलायन हुने गरेको पाइन्छ । यस सन्दर्भमा तयारी पोशाक उद्योेग नेपाली युवाहरूको एउटा रोजारीको प्रमुख आधार लिन सकिन्छ । तयारी पोेशाक रोजगारीको एउटा आधार मानिए पनि लगनशीलता र मेहनत भए अरु जुनसुकै व्यवसायिक कार्य गर्न सकिने लुक्स इन्टरप्राइजेजका सञ्चालक सन्तोष पोखरेल बताउँछन् ।
धेरै लागतखर्च गरि विदेश जानु भन्दात्यो लागतले नेपालमा नै व्यावसाय सञ्चालन गर्नु ठीक हुने उनले बताए । तयारी पोशाक उद्योग मात्र नभएर विभिन्न प्रकारका कृषि व्यवसाय, फर्निचर, होटल जस्ता व्यवसाय सञ्चालन गरी स्वदेशमा नै स्वरोजगार बन्न सकिने उनले बताए ।
नेपालमा गुणस्तर कपडा तयार गर्न सकिएमा यसको स्थान राम्रो रहेको तायारी पोशाक संघका अध्यक्ष चादनी प्रसाद आर्याल बताउछन् । विदेशी कपडा भन्दा पनि नेपालमा नै बनेको कपडा धेरै सस्तोे हुने भएकाले नेपाल सरकारले यस क्षेत्रलाई स्थान दिए नेपालमा उत्पादित कपडाले नेपाली बजारमा राम्रो महत्व पाउने व्यवसायीहरू बताउँछन् ।
नेपालमा नै तयारी पोशाक उत्पादका लागि आवश्यक कच्चा पदार्थका उद्योेगहरू सञ्चालनमा ल्याए आयात शून्य हुुने भन्दैै यसमा सरकारले विशेष कदम चाल्नुु पर्ने व्यवसायीहरू बताउँछन् ।यो लेख खोज पत्रकारिता केन्द्रको सहयोगमा तयार पारिएको हो ।



















