ताप्लेजुङ र पाँचथरमा ११ पुल निर्माण सम्पन्न

वेलकम खबर
भदौ १०, २०७८

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथर जिल्लामा पछिल्लो एक वर्षमा ११ वटा झोलुंगे पुल निर्माण भएका छन् । पूर्वाधार विकास कार्यालय पाँचथरले गत आर्थिक वर्ष ०७७र०७८ मा ११ झोलुंगे पुल निर्माण सम्पन्न भएको जनाएको छ।

पूर्वाधार कार्यालय पाँचथरका अनुसार पाचँथरमा ६, ताप्लेजुङमा तीन तथा ताप्लेजुङ र पाँचथर जोड्ने दुईवटा पुल निर्माण सम्पन्न भएको हो। कार्यालयका अनुसार दुई जिल्ला जोड्ने ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– १ र पाँचथरको याङवरक गाउँपालिका– २ ओखल्लीबारी जोड्ने ८३ मिटरको पुल निर्माण गरिएको छ । त्यस्तै, इवाखोलामा निर्माण गरिएको एक सय १९ मिटरको झोलुंगे पुलले पनि ताप्लेजुङ र पाँचथरको याङवारक गाउँपालिकालाई जोड्नेछ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एक सय २० मिटरको तमोर नदी झोलुंगे पुल फूलबारी आमबोटेमा निर्माण गरिएको छ भने मैवाखोला गाउँपालिका– ६ थुकिम्बा र मेरिङदेन गाउँपालिका– १ जोड्ने एक सय १५ मिटरको मैवाखोलामाथि झोलुंगे पुल निर्माण भएको छ । उता, फक्ताङलुङ गाउँपालिकाको वडा नं। ५ र ६ लाई जोड्ने तमोर नदीमाथि एक सय २० मिटरको पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पाँचथरको फिदिम नगरपालिकाको वडा नं। ८ र १३ लाई जोड्ने ९६ मिटरको पुल, फिदिमकै ११ र १३ नं। वडालाई जोड्ने ७३ मिटरको पुल, वडा नं। १४ मा एक सय २० मिटरको पुल, वडा नम्बर ३ मा ८१ मिटरको पुल र मिक्लाजुङ गाउँपालिका– ५ कुरुम्बामा ९३ मिटरको पुल निर्माण सम्पन्न भएको छ।

सबै पुल निर्माणका लागि तीन करोड ८९ लाख १७ हजार रुपैयाँ विनियोजन भएकामा तीन करोड ७३ लाख ४५ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। पुल निर्माणमा शतप्रतिशत भौतिक प्रगति भएको छ भने ९६ प्रतिशत वित्तीय प्रगति भएको उक्त तथ्यांकमा उल्लेख छ ।

मानिसको नियमित आवतजावत हुने क्षेत्रका खोला तथा खोल्साहरूमा झोलुंगे पुल नहुँदा विशेषतः बर्खायाममा सर्वसाधारणले समस्या झेल्दै आएका थिए। तर, अहिले झोलुंगे पुल निर्माण भएसँगै ग्रामीण क्षेत्रमा आवतजावत गर्न सहज भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*