देउवाले अध्यादेश फिर्ता लिनुपर्छ, ओली र नेपालले सम्झौता गर्नुपर्छ : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई पार्टी विभाजनको विपक्षमा उभिएका छन् । उनले पार्टी विभाजन सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेशलाई सुनियोजित षड्यन्त्र भन्दै विपक्षमा उभिएका हुन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गर्न लाग्दा योगेशले साथ नदिने सन्देश दिने गरी सामाजिक सञ्जालमा कडा धारणा सार्वजनिक गरेका हुन् । नेपाललाई पार्टी विभाजन सजिलो बनाउने गरी सरकारले २० प्रतिशत केन्द्रीय कमिटी सदस्य भए पुग्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने गरी अध्यादेश ल्याएपछि योगेशले आपत्ती जनाएका हुन् ।
‘अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर व्यवस्था र संविधानलाई धरासायी पार्ने सुनियोजित षड्यन्त्र हो,’ उनले यो कदमलाई हिजो र आज दुवै समयमा गलत भएको टिप्पणी गरेका छन् ।



















