पाथीभरामा कसरी लगिँदैछ पानी ? यस्ता थिए अहिलेसम्मका चार असफल प्रयास
ताप्लेजुङ। प्रायः पहाडका थुम्कोहरूमा खानेपानीको अभाव हुन्छ । मुहानहरू तल्लो भागमा हुने भएकाले माथिल्लो ठाउँमा पानी पुर्याउन समस्या हुने गर्दछ ।
हिँडेरै पुग्न मुस्किल हुने त्यस्ता ठाउँमा मुख भिजाउने पानी पनि बोकेरै लानुपर्ने बाध्यता छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा पनि खानेपानीको यस्तै समस्या छ । तीर्थयात्रीका लागि पर्याप्त पानी छैन। यात्राका क्रममा प्यास मेटाउन साथै मन्दिरमा पूजा सामग्री तयार गर्न पनि पानीकै अभाव हुन्छ ।
पाथीभरा दर्शनका लागि वार्षिक ३ लाख बढी धार्मीक पर्यटक आउने गरेका छन् । पाथीभरामा पानी पुर्याउन प्रयासहरू नभएका भने होइनन् हिउँ जमाउनको लागि खाल्डो खन्ने देखि लिएर कुहिरोको पानी संकलन गर्नेसम्मका कामहरू भए । तर समस्याको दिर्घकालीन समाधान अझै हुन सकेको छैन । अहिले पनि लिफ्टिङ प्रविधीबाट पानी लैजाने काम भइरहेको छ ।
पहिलो प्रयासः खाल्डो खनेर हिउँ जम्मा गर्ने
२०३२ सालतिर बनारसबाट एकजना साधु पाथीभरा आएका थिए । उनी करिब ३र४ वर्ष पाथीभरामा नै बसे । त्यतिबेला पाथीभरा दर्शनका लागि खासै दर्शनार्थी जाने गरेका थिएनन् । ती साधु त्यहाँ बस्दा पानीको समस्या भएपछि मन्दिर नजिकै खाल्डो खने ।
त्यो खाल्डोमा हिउँदको समयमा परेको हिउँलाई संकलन गरेर राख्थे । निकै लामो समयसम्म खाल्डोमा हिउँ जस्ताको त्यस्तै रहन्थ्यो र पछि हिउँ आगोमा पगालेर प्रयोग गर्ने गरेको फुङ्लिङ ८ का पुण्यप्रसाद पौडेल सुनाउँछन् । त्यो खाल्डो अझै पनि पाथीभरा मन्दिर परिसरमा छ ।
दोस्रो प्रयासः पाइपमा पानी ल्याउने
२०५१ सालमा सिस्ने मुहानबाट पाइपमा पानी माथिल्लो फेदी भन्दा केही माथि नीलो पाटी भएको स्थानसम्म ल्याइयो । धरानको फुस्रेबाट २० मिलिमिटरको २ किलोमिटर पाइप बोकाएर ल्याइएको थियो । धरानबाट प्लाष्टिकको पाइप ल्याउँदा करिब एक लाख रुपैयाँ खर्च भएको पहिलोपटक पाइपबाट पानी निकालेका फुङ्लिङ ८ का पुण्यप्रसाद पौडेल बताउँछन् ।
‘पानी खोज्दै जाँदा सिस्ने मुहानमा पानी भेटियो त्यहिँबाट २ किलोमिटर पाईप टाँगेर हरियो पाटीसम्म पानी ल्यायौँ,’ पौडेलले भने । मुहान खोज्न जाँदा रात परेर जंगल मै एक रात बिताएको उनी सम्झिन्छन् । ‘पानी खोज्दा खोज्दै रात पर्यो, २ किलोमिटर मात्रै भए पनि बाक्लो झाडी भएकाले फर्किन सकिएन, त्यो रात जंगल मै बितायौँ,’ पौडेलले सुनाए । त्यहिबेलासम्म माथिल्लो फेदिमा बस्ती बसेकै थिएन । पछि पहिरो गयो र मुहान पनि सुक्यो, पाइप पनि डढेलोले खायो । त्यसपछि फेरि दाताहरूको सहयोग र रकम संकलन गरेर ढाँडेबाट पानी ल्याए । तर यसलाई मन्दिर क्षेत्रमा पुर्याउन सकिएन। माथिल्लो फेदीको बस्तीदेखि एक किलोमिटरमा रहेको पाटीसम्म पुर्याए पनि दिगो भएन। ३१ सय मिटर उचाइमा रहेको माथिल्लो फेदीका बासिन्दालाई भने पानी पुगेको छ।
तेस्रो प्रयासः कुहिरोको पानी झार्ने
२०६० सालमा फेरि जाली राखेर पानी बोकेको कुहिरो ठोकाउने र त्यहाँबाट झर्ने विधि अपनाइयो। यसका लागि मन्दिर नजिकैको डाँडामा चारवटा जाली राखिए। सामुदायिक विकासका लागि वैकल्पिक समूह र नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० नामक संस्थाले संयुक्त रुपमा यो प्रविधि जोडेको वैकल्पिक समूहका सजन पौडेलले जानकारी दिए ।
सो प्रविधि जडानमा खटिएका नेवाका प्राविधिक प्रदीप रेग्मीका अनुसार जब कुहिरो जालीमा ठोकिन्थ्यो त्यसको पानी जालीमार्फत ड्रममा जम्मा हुन्थ्यो। ड्रमबाट धारामा झर्ने बनाइएको थियो। यो विधि प्रभावकारी हुन सकेन। स्थापनाको छोटो समयमै सो प्रविधी प्रयोगविहीन बन्यो। सो प्रविधी करिब ३ लाखको लागतमा सम्पन्न भएको वैकल्पिक समूहका पौडेलले बताए ।
चौँथो प्रयासः धर्मशालामा मगरा राख्ने र आकाशेपानी संकलन
जाली राखेर कुहिरोबाट पानी झार्ने प्रविधी प्रभावकारी नभएपछि नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० कै लगानीमा धमैशालाहरूमा मगरा राख्ने र आकाशे पानी संकलन गर्ने विधी अपनाइयो । पानी संकलनका लागि मन्दिर क्षेत्रमै सिमेन्टका ट्यांकी बनाएर धारामा झर्ने पनि बनाइयो।
त्यसबेला पानी संकलनका लागि २० हजार लिटर क्षमताको सिमेन्टको ट्यांकी बनाइएको प्राविधिक रेग्मी बताउँछन् । तर सिमेन्टका ट्यांकी उपयोगी हुन सकेन । त्यसपछि खानेपानी कार्यालयसँगको सहकार्यमा छानाबाट सिधै ड्रममा झारिएको पानी भने भरपर्दो बनेको छ। अहिले पनि सबैभन्दा भरपर्दो विधि यही भएको छ। प्लास्टिकका ड्रममा जम्मा गरेको पानी उपयोगमा आएको छ। तर लामो समय पानी नपरेर खडेरी चले पानीको समस्या हुन्छ।
पाथीभरामा पानी पुर्याउन यस्ता प्रयासहरू भएका छन् । जसमा पाथीभरा क्षेत्रको विकासका लागि काम गर्ने पाथीभरा देवी मन्दिर संरक्षण तथा संर्वद्धन समिति, पाथीभरा क्षेत्र विकास समिति, विभिन्न संघसंस्था र दाताहरूको लगानी रहेको छ । यतिका प्रयास भए पनि अझैसम्म मन्दिरमा पानीको दिगो व्यवस्थापन हुन सकेको छैन । तीर्थयात्रीको सुविधाका लागि सरकार र निजी क्षेत्रबाट पानी पुर्याउन अनेक प्रयास भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउँछन्।
अब पाँचौं प्रयास
अहिले पाँचौं प्रयास स्वरुप लिफ्टिङ विधि मार्फत पाथीभरामा पानी पुर्याउने काम भइरहेको छ। मन्दिरमै पर्याप्त पानी पुर्याउन काफ्लेपाटीबाट लिफ्ट निर्माणको काम भइरहेको छ। मुहान बाहेक माथिल्लो सबै ठाउँमा ट्यांकी निर्माण भइसकेको उपभोक्ता समितिका अध्यक्ष गोपाल न्यौपाने बताउँछन् । ठेकदारसँगको सम्झौता अनुसार चैत्रसम्ममा मन्दिरमा पानी झारिसक्नुपर्छ।
सरकार र उपभोक्ताको गरी ८ करोड २२ लाख १६ हजार रुपैयाँको लागतमा अनुमान रहेको आयोजना प्रेरा विष्णू जे।भी ईलामले ५ करोड ४८ लाख ६४ हजार ३ सय ५५ रुपैयाँमा आगामी चैत्र १४ गते सम्ममा सम्पन्न गर्नेगरि ठेक्का सम्झौता गरेको छ । यो पानी पुर्याउन सके प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्न सकिन्छ।
यसरी पुर्याइन्छ पाथीभरामा पानी
काफ्लेपाटी नजिकै रहेको पानीको मुहानमा एउटा रिजर्भ ट्यांकी रहन्छ । त्यसमा जम्मा भएको पानीलाई लिफ्टिङ प्रविधी मार्फत पाथीभरा डाँडामा पुर्याउन प्रत्येक ३ सय मिटरको दुरीमा ट्यांकी निमार्ण गरि सकिएको छ । एक ट्यांकीदेखि अर्को ट्यांकीसम्म मोटरको सहायतामा पानी माथि लगिन्छ । जसका लागि मुहानदेखि मन्दिरसम्म रिर्जभ सहित ७ वटा ट्यांकी निमार्णको काम अन्तिम चरणमा पुगेको छ ।annapurnapost



















