विश्वमा कोरोना संक्रमितको संख्या २० करोड नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमित हुनेको संख्या २० करोड नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ लाख ६८ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २० करोड ५४ लाख २६ हजार ४२४ पुगेको हो ।
वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा संक्रमित अमेरिकामा १ लाख १२ हजार ६२२ जना थपिएका छन् । सोही अवधिमा भारतमा ४३ हजार ६४१, इरानमा ४२ हजार ५४१, ब्राजिलमा ३५ हजार ७८८,फ्रान्समा ३० हजार ९२०, इन्डोनेसियामा ३० हजार ६२५ र बेलायतमा २९ हजार ६१२ जना थपिएका छन् ।
पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार १७९ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनको संख्या ४३ लाख ३६ हजार ६०३ पुगेको छ । पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ । सोही अवधिमा ब्राजिलमा १ हजार १२३, रुसमा ७९९,इरानमा ५३६ र अमेरिकामा ५९३ जनाको मृत्यु भएको छ ।
तथ्याङ्कअनुसार विश्वमा रहेका संक्रमितमध्ये १८ करोड ४४ लाख २७ हजार ७०१ जना निको भइसकेका छन् । १ करोड ६६ लाख ६२ हजार १२०जना उपचाररत छन् । उपचाररत संक्रमितमध्ये १ लाख १ हजार ८३० जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।