“माधव नेपाललाई पार्टी अध्यक्ष दिन ओली तयार”
काठमाडौं। नेकपा एमाले नेता सोमप्रसाद पाण्डेले माधव नेपाललाई अध्यक्ष दिन केपी ओली तयार भएको दाबी गरेका छन् । तर अहिलेसम्म पार्टीभित्र त्यसबारे छलफल चलिरहेको भए पनि निष्कर्षमा भने पुगिनसकेको पाण्डेले बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पाण्डेले भने, “मसँगको छलफलमा एमाले अध्यक्ष केपी ओली माधव नेपाललाई पार्टी अध्यक्ष दिन तयार हुनुभएको हो । बरु वरिष्ठ नेता माधव नेपाल नै अध्यक्ष पदका लागि लडेको जस्तो देखिन्छ भनेर हच्किनुभयो । भाषा मिलाउने कुरा आफ्नो ठाउँमा होला तर अब माधव नेपालले उपयुक्त जिम्मेवारी पाउने पक्का छ ।” नेताद्वयबीच समझदारी बनिनसके पनि आशावादी बन्ने ठाउँ आइसकेको पाण्डेले बताए ।
उनले थपे, “पार्टी एकता हुने स्थितिमा माधव नेपाल, झलनाथ खनाललाई सम्मानजनक वातावरण बन्नुपर्छ । नेताहरु एक भएर जाँदा कस्तो जिम्मेवारी दिने भन्ने सम्पूर्ण अधिकार त अध्यक्ष ओलीसँगै छ । जे होस्, कार्यदलको साथीहरु र हाम्रो अथक प्रयत्नपछि धेरै दूरी बनाइसकेका नेताहरुबीच संवाद हुन सक्ने वातावरण बनेको छ ।” अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच मध्यस्थता गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि तयार रहेको पाण्डेले बताए । मुलुकको स्थिरताका लागि पार्टी विभाजन हुनुहुन्न भन्ने पक्षमा राष्ट्रपति भण्डारी चिन्तित हुनु स्वाभाविक भएको उनको तर्क छ । तर तयारीबिना डाकिएको एमाले केन्द्रीय समिति र स्थायी समितिको बैठकमा माधव नेपाल विचार समूह सहभागी हुने सम्भावना नरहेको उनले बताए । उनले भने, “माधव नेपाल विचार समूहले बैठकमा जाने निर्णय गरेको छैन । विना तयारी बैठक डाक्नुभन्दा सहमतिमै केही दिन सार्नु उपयुक्त हुन्छ । उनले पार्टी एकता हुने स्थितिमा भोलि तिक्तता, बेमेल र विवाद नआओस् भन्ने तर्फ सचेत हुनु जरुरी छ ।” आफूले कुनै समूह विशेष भन्दा पनि नेकपा एमालेको प्रतिनिधिको हैसियतमा एकताको पहल गरिरहेको पनि उनले दाबी गरे । उनले भने, “म कसैको प्रतिनिधि होइन, सम्पूर्ण एमालेको प्रतिनिधि हुँ । सम्पूर्ण कार्यकर्ताको चाहना पार्टी एकता नै हो । नेताहरुको कारणले विभाजन नहोस् धारणा छ । हामीले आन्दोलन जोगाउन सक्यौं भने नेता त महाधिवेशनबाट को आउँछ, को जान्छ ।” कदाचित् पार्टी एकता हुन नसके सरकारमा सामेल हुने स्थिति पनि आउन सक्ने नेता पाण्डेले बताए । त्यस्तो स्थितिमा राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जानु उपयुक्त हुने धारणा उनको छ ।



















