निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता गुमाको महन्थ ठाकुरद्धारा जसपाकै नामबाट कार्यक्रम

वेलकम खबर
साउन २०, २०७८

काठमाडौं । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता गुमाए पनि महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (जसपा) कै नामबाट प्रदेश तथा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाको घोषणा गरेको छ ।

साउन २२ गतेदेखि तराई मधेसका मुख्य जिल्लाहरुमा र भदौ ९ गतेदेखि सातवटै प्रदेशमा कार्यक्रमसहित जसपाकै हैसियतामा महन्थ ठाकुर पक्षका नेताहरु जान थालेका हुन् ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपा नेपालको आधिकारिता दिँदै महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गराउन आदेश दिएको छ । तर महन्थ पक्षले आफूहरु जसपामै रहेको दावी गर्दै जिल्ला र प्रदेशस्तरमा कार्यक्रम घोषणा गरेको हो ।

जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य जितेन्द्र सोनलले भने, ‘हामी जसपामा छौं, त्यही भएर जसपाको कार्यक्रम लिएर प्रदेश तथा जिल्लामा जाँदैछौं ।’ निर्वाचन आयोगले पार्टीको पुरानो कार्यकारिणी समितिलाई नै मान्यता दिएको भन्दै उनले पार्टी नै उपेन्द्र यादवको हो भनेर कतै उल्लेख नभएको बताए । उनले भने, ‘अर्को कुरा, जसपाको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ, त्यसको फैसला नआएसम्म हामी जसपामै छौं ।’

जसपामा अझै आफूहरुको पनि नाम रहेको र आफूहरु जसपा निर्माणकै लागि कार्यक्रमहरु लिएर जान थालेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*