जनतालाई सङ्घीयताको अनुभूति हुनुपर्छ : मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताले सङ्घीयताको अनुभूति हुने विकासका कार्य गर्नुपर्ने बताएका छन् । प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित विभिन्न मन्त्रालयको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रगति समीक्षा र मुख्यमन्त्री एवं मन्त्रीहरूबीचमा कार्यसम्पादन सम्झौतामा उनले पुल, सडकलगायत अन्य विकास निर्माण र सेवा जनताले सहजरूपमा प्राप्त गरेमा मात्र सङ्घीयताको सफल कार्यान्वयनको अनुभूति हुने चर्चा गरे ।
उनले कुनै बहाना नदेखाई तोकिएको विकासका कार्य समयमा सम्पन्न गर्न निर्देशन दिए । मुख्यमन्त्री राईले सरल नियमावली, कार्यविधि निर्माण गरी जनतालाई ध्यानमा राखी नजिता दिने प्राप्त हुने हिसाबले कार्य गर्नुपर्नेमा जोड दिए ।
उनले हिमाल, पहाड र तराईको समग्र विकासलाई ध्यानमा राखी बहुवर्षीय सडक, पुलको सञ्जाल निर्माणलाई अगाडि बढाएको चर्चा गर्दै दल, मन्त्री स्थान विशेषलाई ध्यानमा राखी विकास निर्माणको कार्य नगर्न आग्रह गरे ।
मुख्यमन्त्री राईले बेरुजुलाई शून्य बनाउन गम्भीररूपमा ध्यान दिनुपर्नेमा जोड दिँदै आगामी एक हप्ताभित्र बजेटको कार्यान्वयन शुरु गर्नुपर्नेमा जोड दिए । उनले खर्च मितव्ययिता अपनाउनुपर्ने आवश्यकता औँल्याउँदै सवारी साधन खरिद, भत्ता, तालिम, फर्निचर, मर्मत, सेवा परामर्श, मेशिनरी औजारलगायत विभिन्न शीर्षकको खर्च कटौती गरी विकास र पूँजी खर्च बढाउनुपर्ने बताए ।
प्रदेशका प्रमुख सचिव सुमनराज अर्याल, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल पूँजीगत खर्चको विविधिकरण गरी जनता केन्द्रित कार्य गर्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा मुख्यमन्त्री राईलाई आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री टङ्कबहादुर आङबुहाङ्ग ९लिम्बू०, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियत, भौतिक पूूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर र सामाजिक विकासमन्त्री उषाकला राईसँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरे ।
यसअघि प्रदेशका सबै मन्त्रालय, प्रदेश योजना आयोग, लोकसेवा आयोगले आर्थिक वर्ष २०७७र७८ वार्षिक समीक्षा प्रतिवेशन प्रस्तुत गरेका थिए । कोरोना महामारी र दरबन्दी कर्मचारीको अभावको कारण लक्ष्यअनुसार प्रगति हुन नसकेको बताइएको छ ।



















