एमालेले बोलायो २४ गतेका लागि केन्द्रीय कमिटी बैठक
काठमाडौ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमालेले साउन २४ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आइतवार बसेको स्थायी कमिटी बैठकले साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
विधान अधिवेशनको विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको पोखरेलले बताए । एमालेले साउन २३ गतेभित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।
भदौ २७ र २८ गतेका लागि तय गरिएको विधान अधिवेशन सम्पन्न गर्नका लागि सदस्यता नवीकरणलाई तोकिएको समयमै सम्पन्न गर्न सुझाव दिएको उनले बताए ।
एमालेले देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गर्न र ९ गते स्थानीय तहको अधिवेशन गर्न निर्देशन दिएको छ ।



















