मन्त्री टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

वेलकम खबर
साउन १३, २०७८

काठमाडौं  मन्त्रिपरिषद विस्तार तयारी गरिरहेको सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

आज बिहान ९ बजेदेखि जारी बैठकमा मन्त्रिमण्डल विस्तार तथा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरू सहभागी छन्। एमालेको माधव नेपालले भने बैठकमा डाक्टर विजय पौडेललाई पठाएका छन्।

यसअघिको शीर्ष बैठकमा नेपाल आफैँ सहभागी थिए। तर, पार्टी एकताको पक्षमा क्रियाशील नेताहरूले वातावरण बिग्रने भन्दै नेपाललाई गठबन्धनका बैठकमा सहभागी नहुन आग्रह गरेका छन्।

नेपालसँग माओवादी अध्यक्ष प्रचण्डले मंगलबार पनि छलफल गरेका थिए। नेपालले एमाले एकताको प्रयास चलिरहने र आफ्नो पक्ष पनि सरकारमा सहभागी हुने बताएका थिए।

आज बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमकै बारेमा छलफल हुने बताइएको छ। मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद विस्तारबारे माधव नेपालसहित शीर्ष नेताहरूले पुनः छलफल गरेपछि टुंगो लाग्नेछ।

जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवाद टुंगो लागेपछि अब सरकार विस्तार गर्ने तयारी भइरहेको छ। जसपाले भने आज बस्ने कार्यकारिणी बैठकबाट मन्त्रीको टुंगो लगाउने जनाएको छ। त्यसका लागि आज कार्यकारीणी समितिको बैठक बस्दैछ।

हिजो बसेको बैठकमा लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा सहभागी भएका तीन मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

एमाले पनि सरकारमा सहभागी हुने चर्चा चलिरहेको छ। तर, तत्काल सरकारमा सहभागी नहुने र अन्य राजनीतिक नियुक्तिमा भने एमालेलाई पनि भागभण्डा छुट्याउने सहमति भएको एमाले नेपाल-खनाल समूहका एक नेताले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*