मन्त्रिपरिषद् विस्तार कहिले ?

विभागीय मन्त्री नहुँदा कामकारबाही प्रभावित
वेलकम खबर
साउन १०, २०७८

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री बनेका देउवाले संसद्मा विश्वासको मत लिइसके पनि कैयौं जटिलता देखिँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको हो । यसले सरकारको कार्यसम्पादन सुरुमै प्रभावित भएको छ ।

सत्ता गठबन्धनमा आबद्ध नेताहरूका अनुसार प्रधानमन्त्री देउवाले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी गरे पनि केही कानुनी र प्रक्रियागत जटिलताका कारण विलम्ब भएको हो । उनीहरूले अब ढिला नहुने दाबी गरेका छन् । ‘सरकार बनेपछि सबैथोक चलेकै छ, कुनै काम रोकिएको छैन । किन हतार गर्नु  ? जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘अब केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’

असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भई शपथ लिएका देउवाले साउन ३ मा प्रतिनिधिसभाबाट १ सय ६५ सांसदको समर्थनसहित विश्वासको मत लिएका थिए । ‘सकेसम्म सरकारमा सामेल हुने सबै पार्टीलाई समेटेर एकैचोटि विस्तार गरौं भन्ने हो,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘उपेन्द्र यादवजीहरूले पार्टीको आधिकारिकताको विषय निर्वाचन आयोगबाट नटुंगिएकाले केही दिन माग्नुभएको थियो । माधवजीहरूले पनि केही निर्णय गर्नुभएको छैन । त्यसैले ढिला भएको हो ।’

यसअघि जसपा अध्यक्ष यादवले आयोगले साउन ७ (बिहीबार) सम्ममा पार्टीको विवाद टुंग्याउने सम्भावना रहेको भन्दै त्यसअगाडि मन्त्रिपरिषद् विस्तार नगर्न प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका थिए । आधिकारिकतासम्बन्धी विवादमा आयोगले पार्टी एकता हुँदाको बखत जसपाको केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ जनालाई सनाखतका लागि साउन ११ गते उपस्थित हुन निर्देशन दिएको छ । तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले बहुमत परीक्षण गर्ने निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइको अर्को कारण एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकारमा सहभागिताबारे औपचारिक निर्णय नदिनु हो । नेपालले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सरकारमा सहभागी हुने आश्वासन दिएका छन् । आफ्नो समूहमा परामर्श थाले पनि उनले सरकारमा सहभागी हुनेबारे औपचारिक निर्णय गराएका छैनन् । कांग्रेसका एक नेताले भने, ‘उहाँहरू सरकारमा आउने सम्भावना रहेको प्रधानमन्त्रीको ब्रिफिङ छ । त्यसैले मन्त्रिपरिषद् विस्तार गर्दा नेपाल पक्षसहितको होस् भन्ने प्रधानमन्त्रीको चाहना छ । उहाँहरू आउन ढिला भयो भने अन्य पक्षलाई समेटेर केही दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

राजनीतिक रूपमा नेपाल समूहलाई सरकारको समर्थन गर्न सहज छ तर मन्त्रिपरिषद्मै सहभागी हुन कानुनी जटिलता छन् । एमालेकै हैसियतमा नेपाल समूहका सांसद मन्त्री बन्न पाउँदैनन् । नेपाल समूहले सरकारमा सहभागी हुन एमाले विभाजनको बाटो रोज्नुपर्ने हुन्छ तर पार्टी विभाजनको विषयमा मतभेद छ । दोस्रो तहका नेताहरूले नेपाललाई ओलीसँगै एकता गर्न तथा तेस्रो तहका नेताहरूले विकल्प सोच्न सुझाव दिएका छन् । केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत नरहेकाले नेपाललाई राजनीतिक दलसम्बन्धी विद्यमान कानुनअनुसार नयाँ दल गठन गर्न कठिन छ ।

नेपालनिकट एमाले उपाध्यक्ष युवराज ज्ञवाली मुख्यतः दुई कारणले सरकारमा जान नसकिने बताउँछन् । ‘हामी आफूलाई एमाले भनिरहेका छौं, अहिले एमाले प्रमुख प्रतिपक्ष हो, हामीले मात्रै निर्णय गरेर एकथरी मान्छे सत्तामा जाने अर्कोथरी प्रतिपक्षमा

बस्ने भन्ने हुँदैन,’ ज्ञवालीले भने, ‘त्यसबाहेक कानुनी जटिलता पनि छन् । संविधानको धारा ७६ ९५० लागू गर्ने बेलामात्रै पार्टीको ह्वीप लागेन । अरूमा त लाग्छ । कारबाही हुन्छ । कारबाही भएपछि सांसद पद जान्छ । त्यसकारण तत्काल सरकारमा जाने सम्भावना छैन । पार्टी विभाजन भयो भने बेग्लै कुरा, अहिले पार्टी विभाजन भएको छैन । एकताको प्रक्रिया चलिरहेको छ । त्यसकारण अन्योल छ ।’

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेताहरूसँग शनिबार साँझ बालुवाटारमा छलफल गरेका थिए तर मन्त्रिपरिषद् विस्तारको टुंगो लाग्न सकेन । बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता नेपाल, जसपाका अध्यक्ष यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

भागबन्डामा अर्को लफडा

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, जसपा, नेपाल समूह र जनमोर्चा छन् । जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ । नेपाल समूहले औपचारिक निर्णय गर्न बाँकी छ तर प्रमुख दलहरूबीच मन्त्रालयको भागबन्डालाई लिएर विवाद छ । जसपा अध्यक्ष यादव दलहरूबीच भागबन्डा मिल्न बाँकी रहेकाले ढिलाइ भएको स्विकार्छन् । ‘भागबन्डाको विषय टुंग्याउन बाँकी रहेको हुँदा समय लागेको हो,’ उनले भने । यादव पक्षले ७ मन्त्री र १ राज्यमन्त्री गरी ८ जनाको सहभागिता हुनुपर्ने माग गरेको छ ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा अब २० मन्त्री बनाउन बाँकी छ । कांग्रेसले १० ९हाल नियुक्त दुईसहित०, माओवादीले ८ ९हाल नियुक्त दुईसहित० दाबी गरेका छन् । नेपाल समूहले सरकारमा सहभागी हुँदा कम्तीमा ६ मन्त्रालयको अपेक्षा गरेको स्रोतको भनाइ छ । मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइमा पार्टीहरूभित्र मन्त्रीका आकांक्षी धेरै हुनु अर्को कारण मानिएको छ । सुरुमा प्रधानमन्त्री देउवाले पार्टीभित्र सल्लाह नगरी गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए । खाँण र कार्की देउवानिकट हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले चारवटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष पनि छुट्टै अस्तित्वमा छ । त्यसकारण देउवाले पार्टीभित्रै आफ्नो र इतर समूहलाई चित्त बुझाउने अर्को चुनौती छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि पार्टीभित्र औपचारिक निर्णयबिनै अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाललाई पठाएका छन् । स्थायी कमिटीमा औपचारिक निर्णयबिनै मन्त्री पठाएको भन्दै नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाइसकेका छन् । मन्त्रिपरिषद् विस्तारमा श्रेष्ठ पक्षलाई पनि समेट्नुपर्नेछ ।

माओवादीभित्रको लफडाबारे अध्यक्ष दाहाल आफैंले सार्वजनिक गरेका छन् । ‘म मन्त्री बन्न दबाब दिने मान्छेको हूलभित्रबाट आएको छु । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने कसलाई नबनाउने १ हाम्रा सांसद सबैलाई मन्त्री चाहिएको छ,’ शनिबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा दाहालले भने, ‘हामीले पाउने बढीमा ७ जना हो । यहाँ मन्त्री नपाए नेतृत्वलाई सरापेर हिँड्ने प्रवृत्ति जबर्जस्त छ । ठूलै नियुक्ति पायो भने ठीक छ, पाएन भने नेतृत्व बदमासै हो भन्न बेरै लगाउँदैनन् । चार पाँच दिनदेखि म मानसिक तनावभित्र छु ।’ निश्चित मापदण्डका आधारमा संस्थागत निर्णय गरेर मन्त्रीहरू पठाउनुपर्ने स्थायी कमिटीका अरू सदस्यहरूको पनि मत छ । जसपामा सरकारमा जाँदा यादवकै नेतृत्वमा जाने वा वैकल्पिक पात्रलाई पठाउने भन्ने विवाद छ । महन्थ ठाकुर र राजेन्द्र महतो समूह छाडेर आएका नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने चुनौती पनि जसपालाई छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम बन्न नसकेकाले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको सत्ता गठबन्धनमा रहेका नेताहरू बताउँछन् । मन्त्रीहरूबीचको काममा तालमेल मिलाउन र सरकारको काम प्रभावकारी बनाउन गठबन्धनमा रहेका दलहरूबीच न्यूनतम साझा कार्यक्रम बनाउने गरिन्छ । न्यूनतम साझा कार्यक्रम बनाएपछि मन्त्रिपरिषद् विस्तार स्वाभाविक देखिने भन्दै गठबन्धनमा रहेका शीर्ष नेताहरू यसको तयारीमा जुटेका छन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदामा काम गरिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको कार्यदल बैठकले शीर्ष नेताहरूसँग छलफल गरेको थियो । कार्यदलमा कांग्रेसबाट मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादीबाट देव गुरुङ र वर्षमान पुन तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् । कार्यदल सदस्य श्रेष्ठले अहिले नीतिगत कुरामा छलफल भइरहेको बताए ।
पूर्वमुख्य सचिव विमल कोइराला मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिला हुँदा सरकारका कामकारबाहीमा असर पर्ने बताउँछन् । ‘राजनीतिक चाँजो मिलाउन लाग्नुभएको होला तर मन्त्रिपरिषद् छिट्टै बन्नुपर्छ । जति ढिला भयो, त्यति कामकारबाहीमा असर पर्छ ।’ पूर्वसचिव बाबुराम आचार्यले भने मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भइनसकेको बताए ।ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*