ओली नराम्ररी पछारिए, बार्दलीमा बसेर बर्बराउँदैछन् : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली इतिहासमा नराम्ररी पछारिएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कार्यक्रमलाई पेरिसडाँडामा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘हामीले ठूलो लडाइँ जित्यौँ। संविधान र राष्ट्रियता खतराको डिलमा परेको थियो। हाम्रो मोर्चाबन्दी र संघर्षपछि केपी ओली इतिहासमा नराम्ररी पछारिए’, उनले भने, ‘पछारिएपछि केपी ओली अहिले विक्षिप्त भएका छन्। घरी बार्दलीबाट बर्बराउँदैछन्, घरी कहाँबाट बर्बराइरहेका छन्। यो बर्बराहट पनि लामो समय रहँदैन।’
प्रचण्डले एमालेका माधव नेपालसहितसँग मिलेर ओलीलाई पाहा पछारे जसरी पछार्न सफल भएको बताएका छन्। ‘केपी ओलीहरू पाहा पछारिए जसरी पछारिएका छन्’, उनले भने, ‘तर उनीहरु अझै पनि हाम्रो गठबन्धन फुटाउन लागेका छन्। हामीबीच छिद्र खोज्दैछन्। एमसिसी र आइपिएसको नाममा फुटाउन खोजिरहेका छन्। प्रतिक्रियावादीहरु जुरमुराउँदैछन्। हामीले होसियार हुनुपर्छ।’
ओलीले अहिलेसम्मका उपलब्धी उल्ट्याउन खोजेको आरोप उनले लगाए। ‘हामीलाई अहिलेसम्मको सबै उपलब्धी उल्टिएर जाने पो हो कि भन्ने डर थियो। एकपछि अर्को प्रतिक्रान्तिकारी र प्रतिगामी हर्कत भयो’, दाहालले भने, ‘यो प्रतिगमन र प्रतिक्रान्तिकारी कदमलाई सच्याउन नसकिए हामीमाथि नै खतरा थियो। यसलाई परास्त गर्न सबै तागत लगाइदिनुपर्छ भनेर माधवजीहरुदेखि कांग्रेसलाई समेत साथी बनाएका थियौँ।’



















