एमालेका ३३ सांसदद्वारा ह्वीप उल्लंघन, ओली पक्षकै ८ ले दिए मत

वेलकम खबर
साउन ४, २०७८

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत दिने क्रममा एमालेका ३३ जना सांसदले पार्टीको निर्देशन अवज्ञा गरेपछि आन्तरिक संकट झन् चुलिएको छ । पार्टीले तटस्थसमेत नबस्न ह्वीप जारी गरे पनि ११ सांसद अनुपस्थित भए पनि २२ जनाले देउवाको पक्षमा मतदान गरे ।

देउवालाई विश्वासको मत दिनेमा माधव नेपाल समूहका १४ र ओली समूहका ८ जना छन् । अन्य ११ जना संसद् भवनमा उपस्थित भए पनि मतदानका बेला बैठक छाडेर हिँडेका थिए । ओली समूहबाट देउवालाई मत दिनेमा प्रेम आले, धनबहादुर बुढा, कृष्णकुमार (किसन) श्रेष्ठ, गोपाल बम, पार्वती विशंखे, हिराचन्द्र केसी, बिना बुढाथोकी र समिना हुसेन छन् । आले यसअघि ओली सरकारमा वनमन्त्री र बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए ।
त्यस्तै सांसद श्रेष्ठले ओलीको विश्वासपात्रका रूपमा काम गर्दै आएका थिए । श्रेष्ठ गत वर्ष समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याउनेमध्येका एक हुन् । प्रधानमन्त्री हुनेबित्तिकै देउवालाई बधाई दिन आले बूढानीलकण्ठसमेत पुगेका थिए । व्यापारिक पृष्ठभूमिका भएकाले आफ्नो स्वार्थका लागि उनीहरू देउवाको पक्षमा लागेको हुन सक्ने ओली पक्षका नेताहरूको आकलन छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विषयले विपक्षी दल एमालेको एकता बचाइराख्ने प्रयासमा गम्भीर संकट आएको नेताहरूले बताएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को निर्णयसँगै विभिन्न राजनीतिक मुद्दामा विभाजित एमालेको एकता झन् कठिन मोडमा पुगेको छ ।

देउवालाई विश्वासको मत दिने नेपाल समूहको कदमले पार्टी एकतालाई संकटमा पारेको ओली समूहको बुझाइ छ । नेपाल समूहले ओलीले विघटन गरेको प्रतिनिधिसभा आफूहरूकै राजनीतिक एवं कानुनी संघर्षको बलमा पुनःस्थापित भएकाले यसको पूर्णकाल सुरक्षित गर्ने दायित्व पनि आफूहरूकै भएको तर्क गरेको छ । विश्वासको मत दिने विषयले नेपाल समूहमै विभाजन आएको छ । ओली समूहमा पनि विद्रोह भएको छ । निरन्तर प्रयासका बाबजुद पनि आइतबार नेपाल पक्षका ११ सांसद मतदानमा अनुपस्थित भए भने ओली समूहका ८ सांसदले देउवाको पक्षमा मतदान गरे ।

एमाले स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले देउवाको पक्षमा मतदान गर्नेहरू पार्टीमा रहन नसक्ने निष्कर्ष निकालेको थियो । ‘नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर रहेर, आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरू पार्टीभित्र रहनुहुन्न,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीको भनाइ थियो । मतदानपछि नेता नेपालले भनेका छन्, ‘निरंकुश प्रवृत्तिको पराजय भएको छ । संविधान र जनताको जित भएको छ ।’

मतदानपछि नेताहरूको आरोप–प्रत्यारोप सुरु भएको छ । एमाले महासचिव ईश्वर पोखरेलको प्रतिक्रिया छ, ‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ । कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदूषकबारे भ्रममा नपरौं, सबैले राम्ररी चिनौं ।’

मतदानमा अनुपस्थित भएका नेपाल पक्षका नेता गोकर्ण विष्टले आइतबारको घटनाले एमालेको एकता जटिल बनाएको बताए । ‘एमाले एकताको प्रक्रियालाई जटिल बनाएको छ, तैपनि राजनीतिमा असम्भव भन्ने हुँदैन भनेजस्तै यसले नयाँ ढंगले एकताको पहल गर्ने अवस्था पनि पैदा हुन सक्छ,’ उनले भने, ‘त्यसका लागि हामी निरन्तर प्रयास गर्छौं ।’ तर, ओली पक्षका एक नेता भन्छन्, ‘अब एकीकृत एमाले सम्भव छैन । पार्टी फुटाउनकै लागि माधव कमरेडले यतिविधि गर्नॅभयो । अब सदन स्थगित गरेर दल विभाजन खुकुलो बनाउने अध्यादेश ल्याउने भन्ने सुनिएको छ । त्यसो हुँदा उहाँलाई पार्टी फुटाउन सहज हुने भयो ।’ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*