महन्थ-राजेन्द्र पक्षले पनि देउवालाई विश्वासको मत दिने !
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।
सपाको महन्थ–राजेन्द्र पक्षले आइतबार विभिन्न चरणमा प्रधानमन्त्री देउवासँग छलफल गरेको थियो।
छलफल सकारात्मक भएकाले विश्वासको मत दिने सम्भावना बढेको महन्थ–राजेन्द्र पक्षका नेता उमाशंकर अरगरियाले जानकारी दिए।
‘हामीलाई प्रधानमन्त्री ज्यूले विश्वासको मत दिनुस् भनेर पत्र पठाउनु भएको थियो। त्यसपछि हामीहरु बसेर संसद भवनभित्रै प्रधानमन्त्री ज्यूसंग पनि छलफल गरियो,अरगरियाले भने,‘प्रधानमन्त्री ज्यूले मधेसका माग र मुद्धा सम्बोधन गर्छु भन्नुभयो । त्यसपछि हामी मात्रै बसेर छलफल गर्यौं, छलफलमा मत दिने भन्ने समझदारी बनेको छ।ु
देउवाले जसपाका माग र मुद्धाका विषयमा संसादमा संवोधन गर्ने क्रममा आफ्ना धारणा राख्ने भएका छन्। देउवाले संसदमा राखेकै धारणाका आधारमा महन्थ–राजेन्द्र पक्षका सांसदले उनलाई मतदान गर्ने भएका छन्।
‘जसपाका माग र मुद्धाका विषयमा प्रधानमन्त्री ज्यूले सम्बोधनका क्रममा आफ्ना कुरा राख्नुहुन्छ। त्यो सम्बोधनलाई मनन् गर्छौं, त्यसपछि मतदान गर्ने नगर्ने फैसला हुन्छ,’ अरगरियाले भने। महन्थ–राजेन्द्र पक्ष पनि मत दिन तयार भएपछि देउवाले जसपा ३२ सांसदकै मत पाउने भएका छन्।



















