नेता नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री देउवा

वेलकम खबर
असार ३०, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । बुधबार साँझ नेपाल निवास कोटेश्वर पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका हुन् ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी कार्यदिशाको विषयमा छलफल भएको स्रोतको दाबी । देउवालाई प्रधानमन्त्री बनाउन पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एमाले माधव नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको पक्षमा नेपाल पक्षका २६ सांसदले सर्वोच्च अदालत पुगेरै हस्ताक्षर गरेका हुन् ।

सोही आधारमा सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार अन्तरिम आदेश दिएपछि मंगलबार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्। प्रधानमन्त्री नियुक्त भएपछि मंगलबार साँझ शीतल निवासमा भएको शपथ ग्रहण समारोहमासमेत सहभागी भएका नेता नेपालसँग देउवाको भेटलाई महत्वका साथ हेरिएको छ । शीतल निवासमा नेता नेपालले देउवालाई दिएको बधाईको तस्बिरले चर्चा पाएको थियो ।

निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध विपक्षी गठबन्धन बनाउन सक्रिय भएका नेता नेपाललाई देउवाले अझै सहकार्य गर्न अनुरोध गरेको स्रोतको दाबी छ । सर्वोच्चको फैसलापछि आफू गठबन्धनमा रहन नसक्ने बताएका नेता नेपाल मंगलबार शपथ समारोहमा गएपछि ओलीले अब पार्टीमा उनका लागि ठाउँ नभएको बताइसकेका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले आत्मआलोचना गर्ने अरु नेतालाई पार्टीमा स्वागत गर्न सकिए पनि नेता नेपालका लागि ठाउँ नभएको बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*