दोभानका आगलागीपीडितलाई बाढीको पनि चिन्ता

भीरको फेदमा रहेको दोभान बजार बाढीसँगै आगलागीको जोखिममा
वेलकम खबर
असार २४, २०७८

ताप्लेजुङ  । मेरिङदेन गाउँपालिका ३ दोभान बजारकी कल्पना तामाङलाई आगलागीपछि घर ठड्याउँदै गर्दा बर्खा कसरी काट्नुहोला भन्ने चिन्ता थियो । आगलागीको एक महिनापछि घर बनाउन थालेकी उनले सकेसम्म खोलाले असर नपुर्‍याउने गरी डिल उठाएर घर बनाइन् ।

दर्कने पानी परेर खोलो सुसाउन थालेपछि मन झसंग हुने गरेको छ । आगोको पीडाबाट तंग्रिन नपाउँदै बाढीको चिन्ताले पिरोल्ने गरेको हो । प्रदिप पोख्रेलको अवस्था पनि यस्तै छ । गत फागुन १८ गते बिहान लागेको आगोमा सारा सम्पत्ति गुमाएका उनले ऋण खोजेर टहरो ठड्याएका छन् । व्यापार गर्ने उद्देश्यले आगलागी भएकै ठाउँमा घर बनाएका उनलाई पनि वर्षे झरीले तर्साउने गरेको छ ।

फुङलिङ सदरमुकामदेखि १७ किलोमिटर दूरीमा रहेको दोभान बजार तमोर र मैवा नदीको बीचमा छ । यो ताप्लेजुङको निर्वाचन क्षेत्र १ र २ जोड्ने एक मात्र मुख्य बजार हो । यहाँ सदरमुकाम फुङलिङको जत्तिकै व्यापार हुने गरेको छ । नौवटा स्थानीय तह रहेको जिल्लाका आठराई त्रिवेणी, मेरिङदेन, मिक्वाखोला र मैवाखोला गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र हो । फुङलिङ नगरपालिकाको १, २ र ३ नम्बर वडाका बासिन्दा पनि कारोबारका लागि यही पुग्छन् । तर यो बजार बाढी र आगलागीको जोखिममा छ । भीरको फेदमा रहेको बजारमा गत फागुन १८ गते आगलागी हुँदा ५० वटा घर जले । ४० करोड ५ लाख रुपैयाँ बराबरको क्षति भयो । २०७२ साल जेठमा आएको बाढीले बजारको तल्लो भाग बगाएर लग्यो । यहाँको चर्चित कान्छी रिसोर्टलगायत महँगा संरचना बगाइदियो । बजारका बासिन्दा फुङलिङ नगरपालिका तरेर कैयौं रात बिताए ।

बाढीपछि मैवाखोलालाई रोक्न तारजाली लगाएर सामान्य प्रयास गरिएको छ । ‘माथिबाट बाढी उर्लेर आएमा नभत्काउला भन्न सकिँदैन,’ मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यप्रसाद बराइली भन्छन्, ‘गाउँपालिकाको सानो बजेटले पार लाग्दैन, प्रदेश र केन्द्रसँग अनुरोधचाहिँ गरिरहेका छौं ।’ यहाँ जलउत्पन्न प्रकोप कार्यालयले तारजाली लगाउने ढुंगा भर्ने काम गर्दै आएको छ । यो नदी जलजले क्षेत्र भएर आउने गरेको छ ।

तमोर नदी तर्ने मोटरेबल पुल यहाँमात्रै भएकाले हरेक गाउँपालिका जाने सडक यहींबाट छुट्टिन्छ । खोलो उर्लेर आए मैवा मात्रै नभएर तमोरको पनि जोखिम छ । तर तमोरको तुलनामा मैवाखोलाको जोखिम बढी रहेको स्थानीय भोला पौडेल बताउँछन् ।ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*