एमालेको विवाद अझै पुगेन टुंगोमा : ओली नेपालको वार्ता सकारात्मक, भोलि फेरि बस्ने सहमति

वेलकम खबर
असार २३, २०७८

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन्। नेपाल समूहका नेता भीम रावलले विवादलाई कसरी सकारात्मक परिणामतर्फ लैजाने भन्ने विषयमा छलफल भएको बताए। लामो समयदेखिको विवाद भएकाले गम्भीर कुराकानी गरेर मात्रै निर्णयमा पुगिने उनले जानकारी दिए।

‘दुई जनाका बीचमा सकारात्मक परिणाममा कसरी लैजाने भन्नेमा सहमति छ। लामो सयमदेखिको विवाद भएकाले गम्भीर कुराकानी गर्नुपर्ने आवश्यकता बोध भएको छ,’ रावलले भने।

भोलि पुनः कार्यदलका नेताहरु बसेर छलफल गर्ने सहमति भएको उनले बताए।यस्तै एमाले कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले पनि छलफल सकारात्मक भएको भए पनि टुंगोमा नपुगेको बताए।

ओली-नेपालले होटल मेरियटमा बुधबार साँझ वार्ता गरेका हुन्। सुरुमा ओली-नेपाल दुबै समूहका नेतासहित बसेका थिए। त्यसपछि वान टु वान वार्ता गरेका थिए।

‘संयुक्त रुपमा र वान टु वान कुराकानी गर्नुभएको छ। सकारात्मक छ। बाँकी कुरा भोलि गरौँला,’ उनले भने। यसअघि बुधबार दिउँसो भएको एमालेको कार्यदलको बैठकले ओली नेपालबीच कुराकानी भएपछि मात्रै टुंगोमा पुग्न सकिने निष्कर्ष निकालिएको थियो। सोमबार, मंगलबार र बुधबार बसेको एमालेको कार्यदलको बैठकपछि सहमतिको वातावरण बन्न लागेको हो।

ओली नेपालबीच होटल मेरियटमा यसअघि वैशाख ८ र ९ गते पनि छलफल भएकाो थियो। उक्त छलफलपछि एमालेको विवाद केही मत्थर भए पनि सहमति भने हुन सकेको थिएन। उनीहरुको मेरियटमा यो तेस्रो भेट हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*