सर्वोच्‍चले देउवालाई प्रधानमन्‍त्री बनाउन परमादेश जारी गर्ने दाहालको विश्‍वास

प्रतिनिधि सभा पुनःस्थापना हुनेमा विश्‍वस्त छु’
वेलकम खबर
असार २२, २०७८

धनुषा । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् । धनुषा निवासी माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवका निधनमा श्रद्धाञ्जली दिन आज जनकपुरधाम आएका अध्यक्ष दाहालले सर्वोच्च अदालतमा बुझाइएको १४६ सांसदको हस्ताक्षरका आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताए । अध्यक्ष दाहालले प्रधानमन्त्रीले अदालतलाई अनावश्यक दबाब दिन खोजेको आरोप पनि लगाए।

अर्को प्रसङ्गमा अध्यक्ष दाहालले संविधान त्रुटिपूर्ण रहेको स्वीकार्दै संशोधनका पक्षमा आफू रहेको स्पष्ट गरे । उनले प्रदेश नं २ को नाम मधेश रहनुपर्ने पनि बताए ।
अध्यक्ष दाहालले दिवङ्गत पार्टी केन्द्रीय सदस्य यादवका पार्थिव शरीरमा दलको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । धनुषाको शहीदनगर नगरपालिका–१ बालाबाखरका नेता यादव लामो समयदेखि अर्बुदरोगबाट पीडित थिए । उनी जनयुद्धका बेलादेखि नै माओवादीमा सक्रिय थिए ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*