‘प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार’
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बुधबार९आज० पनि सरकारी पक्षले बहस गरिरहेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिल सुशील पन्तले रिट निवेदनको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।
उनले प्रतिनिधिसभा विघटनको मुद्दा गैरकानुनी भएको भएपनि सर्वोच्च अदालत प्रशासनले दर्ता गरेकोमा आपत्ति जनाए ।उनले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार भएको दाबी गरे ।‘संसदीय व्यवस्था रहेको मुलुकमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको हुन्छ । अन्य काम मन्त्रिपरिषद्को सिफारिशमा हुने भनिए पनि प्रधानमन्त्री नियुक्तिको अधिकार राष्ट्रपतिलाई नै हुन्छ’, उनले भने । राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको धारा ७६ (५) को सरकारबारे निर्णय लिने अधिकार भएको उनको दाबी थियो ।
सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मी र पन्तले राष्ट्रपतिलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको लागेकाले कसैलाई प्रधानमन्त्रीमा नियुक्त नगर्नु स्वाभाविक भएको बताए ।
मन्त्रिपरिषद्को सिफारिशमा हुने भएपनि प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार भएको उनीहरुको भनाइ थियो । प्रधानमन्त्रीमा देउवा र ओलीले दाबी गर्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते कसैलाई नियुक्त गरेकी थिइनन् ।



















