कोरोनाको हटस्पट बन्दै ताप्लेजुङको हाङपाङ

वेलकम खबर
असार १५, २०७८

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएको छ ।

पालिकाको केन्द्र समेत रहेको हाङपाङमा सोमबार ५५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ । हप्ता दिनअघि सोही संख्यामा गरिएको परीक्षणमा ३९ जनामा संक्रमण भेटिएको थियो । सोमबार प्रसाईं गाउँ, पालिका कार्यालय माथिल्लो क्षेत्र, माखातोप टोलका स्थानीयको परीक्षण गर्दा अधिकांशको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य शाखा प्रमुख समीर प्रधानले बताए ।

यस क्षेत्रमा दुई हप्ताअघि एक स्थानीयको मृत्यु भएको थियो । संक्रमितहरु ती व्यक्तिको मलामी र सुध्याईमा संलग्न धेरै रहेको वडाध्यक्ष देवी खरेलले बताए ।

संक्रमण भयावह बनिसक्दा समेत गाउँमा भेला हुने, आवतजावत नरोकिएको कारण नियन्त्रणमा समस्या भएको वडाध्यक्ष खरेलको भनाइ छ । ‘गाउँमा खेतिपातीको समय छ, धेरै जना खेतमा काम गर्न उपस्थित हुनुपर्ने अवस्था छ, त्यसैले समस्या भयो,’ खरेलले भने, ‘नियन्त्रणमा थप के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ ।’

यस्तै सोमबार सिरिजंघा गाउँपालिकामा पाँच, पाथीभरा याङ्वरक, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा एक–एक र जिल्ला अस्पतालमा दुई जना कोरोना संक्रमित थपिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*