गृहको पदभार सम्हाल्दै मन्त्री पौडेलले भने – सरुवा-बढुवाका निम्ति मकहाँ कोही प्रहरी नआउनू
काठमाडौ । गृहमन्त्री विष्णप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरूपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् ।
शुक्रबार गृहमन्त्रीका रूपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफूले मन्त्रीका रूपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेही भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताएका हुन् । उनले आफूसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए । संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए । मन्त्री पौडेलले नतिजामुखी काम आफूले खोजेको पनि बताए ।
‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिनँ । म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यसहिसाबले अगाडी बढ्नुपर्छ भन्ने मान्यता राख्छु । यहाँहरूले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छु उनले भने ।
मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एक जना प्रहरी पनि आफूकहाँ नआउनका लागि निर्देशन दिए । आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताए । उनले भने, ‘अन्याय भयो भनेर साच्चि नै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोशनका निम्ति, थमौतीका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस मकहाँ नआओस् ।
उनले राजनीतिक परिस्थितिको प्रभाव गृह मन्त्रालयमा पर्न नहुने पनि बताए । अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न पनि उनले निर्देशन दिए ।
उनले भने – ‘राजनीतिक परिस्थितिको प्रभावचाहिँ गृह प्रशासनमा पर्नुहुँदैन । सुरक्षा निकायमा पर्नुहुँदैन । राजनीतिक परिस्थिति अलग चिज हो । त्यो आफ्नो ढंगले चल्दै गर्छ । त्यसबाट यहाँहरू प्रभाव नहुनुहोला । अदालतको मुद्दा, राजनीतिक परिस्थितिको प्रभावबाट गृह प्रशासन, सुरक्षा निकाय प्रभावित हुँदैन । शान्ति सुरक्षा, जिउधनको रक्षामा गम्भीरताका साथ ध्यान दिनुस् ।’
मन्त्री पौडेलले आफू मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि बताए । उनले गृह सचिवसँग दिनमा एकपटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृहसचिवसँगकै समन्वयमा काम गर्न निर्देशन दिए ।



















