आठराई त्रिवेणीले ल्यायो ४४ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ कोलागि ४४ करोड ३० लाख ९३ हजार ९ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । विहिबार एघारौं गाउँसभामा अध्यक्ष विश्वनाथ सिटौलाले नीति तथा कार्यक्रम र उपाध्यक्ष मञ्जु पौडेल भट्टराईले आय व्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । आर्थीक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादनमुलक तथा छिटो प्रतिफल दिन सक्ने, जनताको जिननस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय जनसहभागिता जुट्ने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग हुने, महिला बालबालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने योजनालाई प्राथमिकतामा राखिएको छ ।
सशर्त अनुदान बाहेक शिक्षातर्फ १ करोड ५७ लाख ३५ हजार र स्वास्थ्यतर्फ १ करोड १९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । कोरोना माहामारीको समस्या भोगिरहेको उक्त गाउँपालिकाले आगामी आर्थीक वर्षदेखि एमबिबिएस डाक्टर अध्ययन गर्ने विद्यार्थीलाई ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ ।
माध्यामिक तहसम्म सञ्चालन भएका विद्यालयबाट एक एक जना उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययाका लागि छात्रवृत्ति दिने, कक्षा ११ र १२ लाई निःशुल्क गर्ने, क्षैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेतमुक्त बनाउने, प्राविधिक शिक्षालय स्थापना प्रक्रिया थाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
आठराई त्रिवेणीको एउटै नारा, स्वस्थ रहुन् गाउँले सारा नारा तय गरेको गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकि निर्माण गर्ने, पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउन अभियान सञ्चालन गर्ने, कडा रोग लागेका विपन्न परिवारलाई १५ हजार सहायता प्रदान गर्ने, घरभित्रको घुवाँमुक्त गाउँपालिका घोषणा गर्न अभियान सञ्चालन गर्ने उल्लेख छ ।
त्यस्तै स्वास्थ्य शिविर सञ्चालन गर्ने, गर्भवति महिलाहरुलाई नियमित स्वास्थ्य जाँच गर्न प्रोत्साहन गर्ने, सुत्केरीका लागि पोषिलो खाना कार्यक्रम गर्ने, एक घर एक धारा निर्माण गर्ने, पानीको मुहान संरक्षणलाई उच्च प्राथमिकता दिने, वृक्षारोपण अभियान सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ ।
सबै वडामा केन्द्रिय विद्युत् प्रशारण लाइन विस्तार गर्ने, सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गर्ने, मापदण्ड अनुसारको खेलमैदान निर्माण गर्ने, खेलकुदको विकासका लागि प्रशिक्षकको व्यवस्था गरी विभिन्न खेलका खेलाडी उत्पादन गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ ।
उत्कृष्ट कर्मचारी सम्मान, हरेक विद्यालयमा बालमैत्री धारा र बालमैत्री खेलमैदान निर्माण, ज्येष्ठ नागरिकको सम्मानमा विषेश कार्यक्रम सञ्चालन गर्ने, सुकुम्बासीलाई आवाशका लागि निःशुल्क जग्गादाताको खोजि गरी जग्गा उपलब्ध गराउने, विपन्न तथा दलित परिवारहरुको फुसको छानो भएको घरहरुलाई टिनको छानाको व्यवस्था गर्ने, विपन्नलाई सम्पन्न बनाउन सहयोग गर्ने तथा टुहुरा बालबालिकालाई पालनपोषण गर्ने व्यत्ति वा संघसंस्थालाई सम्मान गर्ने, हरेक वडामा मेलमिलापकर्ता उत्पादन गर्दै मेलमिलाप केन्द्र सथापना गर्नेसमेत आठराई त्रिवेणी गाउँपालिकाले नीति लिएको छ ।
त्यस्तै गाउँसभामा उपाध्यक्ष पौडेलले आर्थीक विधेयक, सन्तोस लिम्बुले विपद व्यवस्थापन विधेयक २०७८ र लक्षुमन राईले शिक्षा विधेयक २०७८ पेश गरेका थिए । नीति तथा कार्यक्रम र बजेटका विषयमा गाउँसभाका सदस्यहरुले आआफ्नो धारणा राखेका थिए । छलफलपछि सर्वसहमतले बजेट परित भएको थियो ।



















