एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौँ : माधव नेपाल

वेलकम खबर
असार ८, २०७८

काठमाडौं । एमाले नेता माधवकुमार नेपालले एकताबद्ध पार्टी, आन्दोलन बनाउनका लागि अपिल गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत् गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दै गरेको बताउँदै एकताका निम्ति आग्रह गरेका हुन् ।

“संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो । जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा बनेको थियो । तर, संसद्, सरकार र पार्टी ९नेकपा० साथै नेकपा९एमाले० लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्दैछन्,” उनले भनेका छन् ।

सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा नपुर्‍याउने बताउँदै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन आग्रह पनि गरेका छन् ।

“हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौँ र छौँ । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा उँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौँ । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔँ,” उनले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*