ओली पार्टी एकता भंग गर्ने दिशामा अघि बढेको माधव नेपालको आरोप
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली पार्टी एकतामा गम्भीर नभएको आरोप लगाएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले ओली पार्टी एकता भंग गर्ने दिशामा अघि बढेको आरोप लगाएका छन् ।
कर्णाली प्रदेशका सांसदहरुलाई गरिएको कारबाही सर्वोच्चले उल्ट्याएपछि ओली त्यसविरुद्ध पुनरावेदनमा जानुलाई नेपालले एकता भंग गने दिशामा अघि बढेको बनेका छन् । उनले भनेका छन्, ‘कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।’
स्थायी समितिका नेतामाथि कारबाही गर्ने अनि उनीहरुसँगै वार्ता गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएको नेपालले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।’
सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले पार्टी एकताबद्ध हुन नसक्ने नेपालको भनाइ छ । उनले लेखेका छन्, ‘असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकताविरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’
सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।



















