काङ्ग्रेस सभापतिमा आकांक्षी ६ नयाँ अनुहार

वेलकम खबर
असार ५, २०७८

काठमाडौं । ४ असारमा कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकले अन्ततः नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा गर्ने प्रस्तावको अनुमोदन गरेको छ ।

यसअघि कोरोनाभाइरस महामारीका कारण महाधिवेशनका लागि माहोल नभएको बताइँदै आए पनि अब महाधिवेशन गर्ने केन्द्रीय कमिटीको अनुमोदनपछि यसको सरगर्मी पनि बढेको छ ।

अनि १४ औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवारका रुपमा हेरिरहेका केही नेताहरुले आफ्नो व्यस्ततालाई पनि बढाउन थालेका छन् । यसपटक दाबी गरेअनुसार भएको खण्डमा नेपाली कांग्रेसले महाधिवेशनमा ४ जनाभन्दा बढी नेताहरुलाई सभापतिका उम्मेदवारका रुपमा पाउने अनुमान गर्न सकिन्छ ।

सभापतिको उम्मेदवारको रुपमा सबैभन्दा अगाडि छन् सभापति शेरबहादुर देउवा नै । देउवा यसपटक पनि सभापतिमा आफू दोहोरिन चाहेको सन्देशका साथ आफूनिकट नेताहरुसँग छलफलमा जुटिसकेका छन् । आफू सभापति भएर नै अबको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने आश्वासन उनले दिन थालिसकेका छन् ।

५ असार अर्थात् शनिबार उनले आफ्नो निवासमा केही नेताहरुलाई भेटे । आफूनिकट नेताहरुसँगको छलफलमा उनले स्पष्ट सन्देश दिएका छन्– यसपटक सभापतिको हुने म हो, मलाई सहयोग गर्नुहोस् ।

उनले आफूलाई थप एकपटक सभापतिमा सहयोग गर्न सभापतिमा आफू उठ्ने दाबी गर्दै आएका कांग्रेस नेता विमलेन्द्र निधिलाई पनि अनुरोध गरिसकेका छन् । सभापतिमा आफूले उम्मेदवार दिने दाबी गरिसकेका निधिले यसपटक १३ औं महाधिवेशनमा जस्तै देउवालाई सहयोग गर्नेछन् वा आफैं सभापतिको दौडमा हुनेछन्, त्यो हेर्न नै बाँकी छ । तर, देउवाले चाहिँ निधिले सभापतिमा दाबी गरे पनि आफूलाई पछि नहटाउने निर्णय गरिसकेको उनीनिटक एक नेता बताउँछन् ।

‘अब एक कार्यकाल उहाँ सभापतिमा दोहोरिन चाहनुहुन्छ,’ देउवानिकट ती नेताले फरकधारलाई भने, ‘यसपटक उहाँले सभापति भएर कांग्रेसलाई पहिलो पार्टी बनाउने लक्ष्य लिनु भएको छ, पछिल्ला उहाँका राजनीतिक अडानका कारण पनि उहाँलाई सहज हुने निश्चित छ ।’ उनका अनुसार विमलेन्द्र निधिले साथ नदिएको खण्डमा पनि देउवाले यसपटक सभापतिमा जित्नेछन् । ‘एकैपटकमा उहाँको बहुमत नपुग्ला तर दोस्रो र तेस्रो राउण्डमा सभापतिका लागि निर्वाचन भए पनि उहाँले नै जित्ने हो,’ ती नेताले भने ।

एकातिर निधिले आफू सभापतिमा उठ्ने दाबी गर्दा देउवालाई केही समस्या पर्न सक्ने अनुमान कांग्रेस नेताहरुले गरेका छन् भने अर्कोतिर कांग्रेस सभापतिका अर्का आकांक्षी रामचन्द्र पौडेल समूहलाई चाहिँ यही कारण आफूहरु सहज अवस्थामा पुगेको पूर्वानुमान भएको छ ।

‘निधिले देउवालाई साथ छोड्दा आफूलाई सहज हुने अनुमान पौडेल समूहले गर्नु स्वभाविक हो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले फरकधारसँग भने, ‘देउवा र निधि एकअर्कासँगको प्रतिस्पर्धामा हुँदा आफूहरु सहज अवस्थामा सभापतिमा निर्वाचित हुने सम्भावना देखे पनि पौडेल समूहलाई त्यति सहज चाहिँ छैन ।’

रामचन्द्र पौडेल चाहिँ पछिल्लो समय देउवानिकट केही नेताहरुलाई पनि आफ्नो प्यानलमा ल्याउन कसरत गरिरहेका छन् । त्यस्तै, उनले सभापतिका अन्य आकांक्षी प्रकाशमान सिंह, शशांक कोइराला र कृष्णप्रसाद सिटौला समूहलाई पनि आफूसँग ल्याउन सकिने विश्वास लिएका छन् । सिटौलाले आफूलाई सहयोग गर्दा सिंह र कोइराला आफ्नो पक्षमा आउने उनले अनुमान गरेका छन् । यस्तो भएको खण्डमा पहिलो चरणमा नभए पनि दोस्रो चरणबाट आफू सभापतिमा निर्वाचित हुने सम्भावना प्रवल रहेको पौडेलको विश्वास छ ।

एकातिर देउवा र पौडेल यसपटक सभापतिमा आफूलाई विजयी गराउनेमा निश्चित जस्तै भएका छन् भने कांग्रेसको दोस्रो पुस्ता पनि अब सभापतिमा उम्मेदवारी दिनबाट पछाडि नहट्ने पक्षमा रहेको छ ।

यसमा सबैभन्दा अगाडि देखिएका छन्, विमलेन्द्र निधि । गत महाधिवेशनसम्म देउवालाई समर्थन गरेका निधिले यसपटक आफू सभापति हुन नसकेमा १५ औं महाधिवेशनसम्म आफूलाई पछिल्लो पुस्ताका नेताले नै च्यालेन्ज गर्ने उनले अनुमान गरेका छन् ।

‘कांग्रेसमा पछिल्लो पुस्ताको उदय निकै तीव्र गतिमा भइरहेको छ, अबको पाँच वर्षमा अहिले युवा नेता भनिएका अनुहारहरु नै सभापतिका लागि आकांक्षी हुने अनुमान कांग्रेसमा दोस्रो पुस्तका नेताले गरेका छन्, त्यसैले निधि पछाडि फर्किन चाहँदैनन्,’ कांग्रेसका ती केन्द्रीय सदस्यले भने, ‘अनि उनलाई अहिले आफू संगठनात्मक रुपमा पनि बलियो भएको छु भन्ने लागेको छ, त्यसैले यसपटक उनी सभापतिमा उम्मेदवारी दिनेमा अडिग छन् ।’

निधिले आफूलाई सभापति उम्मेदवार बनाउनका लागि तयारी पनि गरिसकेका छन् । पछिल्ला केही दिन यता उनले कांग्रेसका केही युवा नेताहरुसँग बारम्बार आफ्नो छलफललाई बढाएका छन् र यसपटक आफूलाई साथ दिन अनुरोध गरिरहेका छन् ।

निधि जसरी आफ्नो अब कांग्रेसमा सभापति हुने पोर्टफोलियो पुगेकोमा विश्वास गरिरहेका छन्, कांग्रेस नेता प्रकाशमान सिंह पनि त्यही आधारमा आफ्नो पनि पोर्टफोलियो पुगेको र सभापतिमा आफ्नो दाबी ठिक भएको निष्कर्षमा पुगेका छन् ।

यसअघि सिंहले कांग्रेसमा शेखर वा शशांक कोइरालामध्ये एकलाई सहयोग गर्न सक्छन् भन्ने अनुमान गरिएको थियो । तर, पछिल्ला दिनमा सिंह आफूले कांग्रेसको नेतृत्व गर्ने समय आएको भन्दै दैनिक निवासमा छलफलमा जुटिरहेका छन् ।

‘देउवाले पार्टीलाई धेरै डुबाएका छन्, अब यसलाई पुनर्जीवन मैले दिनुपर्छ,’ सिंहले कार्यकर्ता तथा आफूनिकट नेताहरुसँगको भेटघाटमा भन्दै आएका छन् । बाबु गणेशमान सिंहले पनि कोइराला परिवारलाई नेतृत्व छोडेको स्मरण गर्दै सिंहले अब आफूले कांग्रेसका लागि त्यही कुरा दोहोर्याउन नसक्ने बताउँदै आएका छन् ।

त्यसैले अबको कांग्रेस महाधिवेशनमा प्रकाशमान सिंह पनि एक आकांक्षी हुन् ।

भदौमा काठमाडौंमा हुने कांग्रेस महाधिवेशनमा यसपटक कोइराला दाजुभाइ शशांक कोइराला र शेखर कोइराला पनि आकांक्षी रहेका छन् । यी दुवैले अहिलेसम्म आफूहरु दुवै जना कांग्रेसको नेतृत्वका लागि तयार भएको बताएका छन् । ‘अन्तिममा कोइराला लिगेसी भन्दै एकले अर्कालाई सहयोग गर्न सक्छन्,’ कांग्रेसका ती केन्द्रीय सदस्यले भने, ‘तर, अहिले दुवैले आफूलाई कांग्रेस सभापतिका रुपमा प्रोजेक्ट गर्न थालेका छन् ।’

यीमध्ये शशांक कोइरालाले कोइराला परिवारमा आफू निसर्त तथा स्वभाविक रुपमा अबको सभापतिको उम्मेदवार हुनु पर्ने अडान राख्दै आएका छन् । अर्कोतिर शेखर कोइरालाले यो समयमा आफूले देशभर घुमेको भन्दै आफूलाई देशभरका कांग्रेस कार्यकर्ताबारे थाहा भएको र पार्टीलाई बलियो बनाउन आफू सभापति नभए पार्टीमा कोइराला परिवारको लिगेसी समाप्त हुनसक्ने तर्क गर्दै आफूलाई सभापतिको स्वभाविक उम्मेदवार बताउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*