पाथीभरा याङ्बरकका शिक्षकलाई विद्यालयमा हाजिर हुन निर्देशन
ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर कार्यरत विद्यालयमा यथाशीघ्र हाजिर हुन पालिकाभरिका सबै शिक्षकलाई उर्दी जारी गरेको छ ।
शिक्षा अधिकृत लासाङ तामाङले सूचना जारी गर्दै १ असारबाट शैक्षिक सत्र सुरु भइसकेकाले अब सबै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको प्रक्रियामा केन्द्रित हुन पालिकाभरका सामुदायिक तथा संस्थागत विद्यालयलाई आग्रह गरेकी हुन् ।सूचनाअनुसार पालिकाभरिका विद्यालयले अब २० असारसम्म विद्यार्थी भर्ना अभियान चलाउनुपर्नेछ । पालिकाले पाठ्यपुस्तक तथा छात्रवृत्तिसमेत समयमै वितरण गरी सोको भर्पाइ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा पठाउनसमेत भनेको छ ।

यस्तै, पालिकाले २०७८ को शैक्षिक सत्र तथा वार्षिक कार्ययोजना तथा शैक्षिक सामग्री निर्माण गर्ने÷गराउने प्रबन्ध गर्न र विद्यालय सुधार योजना तयार पार्नसमेत सबै विद्यालयलाई परिपत्र गरेको छ ।
सम्पूर्ण स्थायी शिक्षकले शैक्षिक सत्र २०७७ को तोकिएको ढाँचामा कार्यसम्पादन मूल्यांकन फाराम भरेर असार मसान्तसम्म विद्यालयमा दर्ता गराई पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनसमेत गाउँपालिकाले सूचित गरेको छ ।



















