कांग्रेस केन्द्रीय समिति बैठक आज
काठमाडौं । नेपाली कांग्रेसको आज केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । कांग्रेस नेताहरुले आजको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने बताएका छन् ।
सभापति शेरबहादुर देउवाको निवासमा पछिल्लोपटक बसेको पदाधिकारी बैठकले भदौ ७ देखि गर्ने तय भएको महाधिवेशन भदौ १६ देखि गर्ने गरी प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव छलफल गरी निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तयारी गरिएको छ । कोरोना महामारी कायमै रहेको अवस्थामा कसरी महाधिवेशन गर्ने भन्नेबारे पनि आज बैठकमा छलफल हुने बताइएको छ । कांग्रेसमा केन्द्रीय समिति चयन गर्न महाधिवेशन प्रतिनिधि एकै ठाउँमा भेला भएर मतदान गर्ने गरिन्थ्यो ।
जिल्ला, क्षेत्र वा प्रविधि प्रयोग के गरेर महाधिवेशन गर्न सकिन्छ भन्नेबारे आज केन्द्रीय समितिमा छलफल गरी टुंगो लगाइने भएको छ । कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेकोमा अहिलेसम्म ८ लाख क्रियाशील सदस्य बनेका छन् ।



















