महिलालाई मन्त्री नबनाएकोप्रति सांसद यादवको आक्रोश
नेकपा एमालेका प्रदेश सभा सदस्य मञ्जु यादवले प्रदेश २ मा महिलालाई मन्त्री नबनाएको प्रति आक्रोश व्यक्त गरेकी छन् । नीति तथा कार्यक्रममाथि शनिबार भएको छलफलमा प्रदेश सभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद यादवले महिलालाई मन्त्री नबनाएकोप्रति आक्रोश व्यक्त गरिन् ।
महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेशमा महिलालाई नै पछाडि पार्न खोजिएको बताउँदै उनले भनिन, ‘के यो प्रदेश सभामा महिला छैनन् ? के सक्षम महिलाहरू यहाँ हुनुहुन्न ? आज महिला सांसदलाई मन्त्री पदबाट वञ्चित कुन नीतिको आधारले गर्नुभो ?’ सांसद यादवले सत्तापक्ष र प्रतिपक्षले महिलालाई बाइकट गरेर चल्न नमिल्ने बताउँदै दलित सशक्तीकरण भनेर ५० प्रतिशत महिलाको कोटा सुरक्षित गरिएको कुरा कागजमै सीमित रहेकोप्रति दुःख व्यक्त गरिन् । उनले प्रश्न गर्दै भनिन्,‘हामी कहिलेसम्म मुख बाँधेर बस्ने ? के मधेशका महिलाहरु गुलामी गर्नका निम्ति राजनीतिमा आएका हुन् ? यही दिन हेर्नलाई हामी महिलाहरु मधेश आन्दोलनको समयमा सडकमा गएका थियौं ?’ सांसद यादवले पुरुष सांसदप्रति लक्षित गर्दै भनिन्,‘तपाईंहरुलाई थोरै पनि लाज लाग्दैन, तपाईंहरूले छुट्नै नहुने महिलाहरू नभए पनि हुने ? यो अवस्थाले हामी जनतामा के मुख लिएर जाने ? सांसद यादवले नीति तथा कार्यक्रम र बजेट मात्रै पास गरेर जनताको समस्याबाट पञ्छिन नमिल्ने बताउँदै जनताको समस्याको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवैलाई संवेदनशील बन्न आग्रह समेत गरिन् ।



















